मकवानपुर मनहरीका गाउँपालिका अन्तर्गतका विभिन्न बाल विकास केन्द्रहरुमा काम गर्दै आइरहेका प्रारम्भिक बाल विकास केन्द्र (इसिइडी) का सहजकर्ताको तलब १५ हजार रुपियाँ पुग्ने भएको छ । श्रम ऐनले गरेको व्यवस्थालाई अवलम्बन गर्दै आगामी आर्थिक बर्ष अर्थात साउन महिनादेखि तलब बृद्धि गर्ने गरी बजेट बिनियोजनको तयारी भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए ।

यसअघि संघीय सरकारको तर्फबाट ६ हजार र गाउँपालिकाको तर्फबाट थप ७ हजार गरी मासिक १३ हजार सहजकर्ताहरुले पारिश्रमिक स्वरुप बुझ्दै आइरहनु भएको थियो । ‘लामो समयदेखि कार्यरत इसिइडीका सहजकर्ताहरुले श्रम ऐन अनुसार तलब बृद्धिका लागि गाउँपालिका आएर अनुरोध गर्नु भएको थियो’, अध्यक्ष कालाखेतीले भने–‘श्रम गर्नेहरुलाई यथोचित र कानून बमोजिम पारिश्रमिक दिइनुपर्छ भनेर हामीले बजेटको व्यवस्थापन गर्ने निश्चित गरेका छौँ ।’

शिक्षा क्षेत्रको विकासका लागि स्थानीय सरकारको तर्फबाट लगानी पर्याप्त गरिने र त्यसबापत शिक्षाको गुणात्मक विकास हुनुपर्ने धारणा आफूले शिक्षासम्बद्ध प्रतिनिधिहरुलाई राख्दै आइरहेको उनले बताए । मनहरी गाउँपालिकामा विद्यालयभित्र र समुदायस्तरमा गरी ३२ वटा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालनमा छन् ।

पालिका प्रेस
थप जानकारी