• सन्दिप पाैडेल

 आज जुलाई २८ अर्थात् विश्व हेपाटाइटिस दिवश विश्व स्वास्थ्य संगठनले Hepatitis can’t wait” भन्ने अन्तराष्ट्रिय नारा तय गरेको छ भने नेपालमा  हेपाटाइटिस निर्मुलनका आधार, जनचेतना, रोकथाम र उपचार भन्ने नारा सहित मनाइँदै छ ।

के हो त हेपाटाइटिस ?

मानव शरिरमा कलेजो महत्त्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै  हेपाटाइटिस हो ।हेपाटाइटिस भाइरस द्वारा हुने सरुवा रोग हो । यस रोगले कलेजोमा असर गर्दछ । अन्य मौसममा भन्दा वर्षातको समयमा बढी देखा पर्दछ तसर्थ यो मौसममा यो रोगको बारेमा सचेत रहनु र यसबाट बच्ने उपायहरु अपनाउनु पर्दछ । हेपाटाइटिस मुख्य गरी ५ प्रकारका हुने गर्दछन्, ति हुन्, ए, बी, सी, डी, र इ । यी मध्ये हेपाटाइटिस बी र सी लाई बढि घातक मानिन्छ ।

हेपाटाइटिसका मुख्य लक्षणहरु

हेपाटाइटिस ए र इ  का लक्षणहरुः

  • पहिलो अवस्थाः यो १ देखि २ हप्ताको हुन्छ । यस अवस्थामा खानामा रुचि घट्दै जाने, ज्वरो आउनु, दिसा तारन्तार हुनु, वाकवाकी लाग्नु र पेटको दायाँ कोखा दुख्नु आदि पर्दछन् ।
  • दोस्रो अवस्थाः दिसा र पिसाबमा पहेँलोपना, आँखा, नङ, मुख र शरिर क्रमशः पहेँलो हुँदै जानु ।
  • तेस्रो अवस्थाः दोस्रो अवस्थाका लक्षणहरु हराएर जान्छन् तर बिरामि कमजोर हुन्छ तर सन्चो महशुस गर्छ ।

हेपाटाइटिस सी का लक्षणहरुः

  • ज्वरो आउनु, थकान महशुस हुनु, खान मन नलाग्नु, वाकवाक लाग्नु, पेट दुख्नु, गाढा पहेँलो रङ्गको पिसाब हुनु, खैरो रङ्गको दिसाहुनु, जोर्नी दुख्नुको साथै जन्डिस देखिनु पर्दछन् ।

हेपाटाइटिस लागेमा के गर्ने ?

हेपाटाइटिसको समयमा उपचार हुन सकेन वा भएन भने कलेजोको क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्याभन्दा करिब १० गुणा बढी रहेको पाइन्छ । यसको उपचारमा इन्टरफेरोन र रिवाभिरिन नामक एन्टि भाइरल औषधिको प्रयोग गरिन्छ । तर रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम भएको हुनाले निम्न कुरा अपनाएमा हेपाटाइटिस को संक्रमणबाट बच्न सकिन्छ ।

  • समयमा नै हेपाटाइटिस विरुद्धको खोप लगाउने र अरुलाई पनि लगाउन सुझाव दिने ।
  • पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थकर बानीको विकास गर्ने ।
  • आवश्यकताविना र असुरक्षित रुपमा सुईको प्रयोग नगर्ने ।
  • भाइरस फोहोरमा बस्ने भएको हुनाले घर तथा सार्वजनिक ठाउँको सरसफाइ गर्ने ।
  • लागूपदार्थको सेवन तथा मद्यपान नगर्ने ।
  • असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन ।
  • असुरक्षित रगत तथा रगतजन्य पदार्थहरुको प्रयोग गर्नु हुँदैन ।
  • ट्याटु खोप्ने, एक्युपन्चर, नाक-कान छेड्नेमा विशेष ध्यान पुर्‍याउने ।
  • समय समयमा कलेजोको बारेमा जानकारी नजिकको अस्पतालबाट लिने ।

याद राख्नुपर्ने कुरा “ हेपाटाइटिस रोग लाग्नुभन्दा, रोग लाग्न नदिनु नै उत्तम हो ।”

(-पाैडेल, थाहा नगरपालिकाका आन्तरिक लेखा परिक्षक हुन् ।)

पालिका प्रेस
थप जानकारी