फाइल फोटो ।

मकवानपुर थाहानगरबाट काठमाण्डौं जोड्ने छोटो मार्ग चित्लाङ–थानकोट सडक (गणेशमान मार्ग) को स्तरोन्नति तथा कालोपत्रेसहितको निर्माण कार्य गर्ने प्रतिवद्धता भएको छ । सडकमा निरन्तर सवारी संचालनका लागि कालोपत्रेसम्मको कार्य गर्न थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाबीच साझा सहमती भएको हो ।

सडकको दीगो विकासका लागि दुई पालिकाबचित साझा एजेण्डा तय भएको हो । १३ साउनमा चन्द्रागिरी नगरपालिका काठमाण्डौको कार्यालयमा भएको छलफल भएको हो । सडकलाई थप व्यवस्थित गर्नका लागि थाहा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजकुमार बलामी र चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीलाई सडकको निर्माण कार्य हेर्न तोकिएको छ । तोकिएका दुवैजनाले समिति बनाएरै कार्य गर्नसक्ने गरी जिम्मेवारी दिइएको छ ।

छलफलमा सडकको नयाँ डिपिआरको लागि भौतिक योजना मन्त्रालय तथा सडक विभागलाई अनुरोध गर्ने र बजेट मागको लागि प्रधानमन्त्री कार्यालयमा जाने निर्णय गरिएको थाहानगरबाट छलफलमा सहभागी ईन्द्र श्रेष्ठले जानकारी दिए । यसपालिको बजेट जम्मा तीन करोड रुपैयाँ मात्र भएकोले त्यतीमात्र बजेटले खासै काम र सडकको प्रगति हुन नसक्ने ठहर गर्दै पुरानो डिपिआरबाट नयाँ बजेट र योजना बनाउन नसकिने बताइएको छ । यसका लागि डिपिआरलाई पुनरावलोकन गरेर नयाँ योजनाकासाथ सम्बन्धित निकाय र मन्त्रालयमा बजेट सुनिश्चितताको लागि पहल गर्ने विषयमा दुवै पालिकाबीच सहमती भएको छ ।

चन्द्रागिरीमा भएको छलफलमा थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्ट, चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरी, राष्ट्रिय सभाका निवर्तमान सदस्य रामनारायण बिडारी, विष्णुहरी ढकाल जंगली, थाहा ९ का अध्यक्ष राजकुमार बलामी, माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठको सहभागीता रहेको थियो।

पालिका प्रेस
थप जानकारी