तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीमाथि घरेलु हिंसाको आरोप लागेको छ । उनकी बुहारी वर्षाकुमारी चौधरीले आफूमाथि शारीरिक र मानसिक हिंसा भएको भन्दै मंगलबार प्रहरीमा उजुरी दिएकी हुन् । ‘जाहेरी दर्ता भयो । अब हामी कानुनी प्रक्रियामा अगाडि बढ्छौं,’ डीएसपी ठगबहादुर केसीले भने ।

वर्षाले प्रहरीकहाँ दिएको उजुरी अनुसार गत साउन १४ गते राति उनका श्रीमान मोहन मदिरा पिएर कुटपिट गरेका थिए । ‘मलाई कुटेर ट्वाइलेटभित्र फ्याँक्ने धम्की दिए,’ उनले भनिन्, ‘प्रहरीले समेत मलाई केही गर्दैन भन्दै धाक लगाउनु भयो ।’ कुटाइबाट जोगिन शौचालय जाने भन्दै गेट खोलेर भागेको उनले बताएकी छन् ।

वर्षाको शरीरमा निलडाम, घाँटीमा हातले थिचेको, टोकेको डाम प्रस्ट देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । चोट देखेपछि मोहनले ‘प्रहरीमा गए पनि केही हुन्न’ भन्दै धम्क्याएको वर्षाले बताइन् । साउन १५ गते बिहान वर्षाले इलाका प्रहरी कार्यालय मंगलापुरमा पुगेर उजुरी दिएकी थिइन् ।

प्रहरीकहाँ उजुरी दिएपछि पनि पतिले गाली बेइज्जती गर्दै कुटपिट गरेको वर्षाको भनाइ छ । ‘त्यसपछि माइत बसेकी छु,’ उनले भनिन्, ‘मेरो पीडा सुन्ने धेरै भए, न्याय दिने कोही भएनन् ।’ उनका अनुसार परिवारका सदस्यले उनलाई छिमेकीसित बोल्न र घरबाहिर निस्कन पनि दिँदैनथे ।

‘सासुआमाको इज्जत र चुनाव भन्दै मोहन र परिवारले निवेदन दर्ता गर्न दिएनन्,’ उनले भनिन्, ‘चुनावसम्म ठीक थियो, सकिएलगत्तै कुटाइ सुरु भयो ।’ एक महिनाअघि यातना सहन नसकेर माइत गएको उनले सुनाइन् । ‘म माइत गएका बेला मोहनले आएर माइती पक्षलाई नै थर्काए,’ उनले भनिन्, ‘राति सुतेका बेला जगाएर सुर्तीजन्य वस्तु दिन लगाउने, शौचालयको ढोका खोलिदिन लगाउने गर्थे ।’ यस्तै संवेदनशील अंगमा समातेर यातना दिने गरेको पनि उनले उजुरीको क्रममा भनेकी छन् ।

केही समयअघि आफूले पतिसित बस्न नसक्ने भन्दै अदालतमा छोडपत्रका लागि पक्रिया अगाडि बढाएको उनको भनाइ छ । तर पतिले ‘१/२ लाख लिएर जा’ भन्दै गाली गलौज गर्ने गरेको उनले बताइन् ।

आफूले बच्चाको लालनपालन खर्च पाउनेगरी न्याय खोजेको वर्षाको भनाइ छ । तर नगरपालिकाको न्यायिक समिति संयोजकसमेत रहेकी उपमेयर चौधरीले बुहारीमाथि भएको यातना रोक्न कुनै भूमिका नखेलेको बुहारी वर्षाको गुनासो छ ।

‘पिटेका बेला पनि सासुआमाले पहिले केही बोल्नु हुन्थेन,’ उनले भनिन्, ‘यसपटक किन पिट्छस्, नपिट्, मलाई टेन्सन नदे भन्दै कोठामा जानुभयो ।’ श्रीमानले मदिरा पिएपछि कुटपिट तथा हिंसा गर्ने गरेको उनको भनाइ छ ।

‘इच्छा विपरित यौनसम्पर्क राख्न खोज्ने, आफूले इच्छाएको जे पनि हुनुपर्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मैले धेरै मानसिक तथा शारीरिक पीडा सहेँ ।’ सहन नसक्ने भएपछि आफू र बच्चाको ज्यान जोगाउन प्रहरीकहाँ पुगेको वर्षाले बताएकी छन् ।

इलाका प्रहरी मंगलापुरमा वर्षाले दिएको ठाडो उजुरीका आधारमा दुई पक्षको कुरा सुन्न उनका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले फोनमार्फत् प्रयास गर्दा सम्पर्कमा नआएको र आरोपित मोहन नवलपरासीस्थित आफन्तकहाँ भएको खबर पाएको बताए । हिंसाको उजुरी प्राप्त भएकाले वर्षाको मानसिक तथा शारीरिक अवस्था ठीक गराउन लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइरहेको पनि केसीले बताए ।

उक्त उपचारबाट पीडितको प्रमाण देखिने उनले जनाए । हिंसा वा कुटपिट हो/होइन जान्नका उपचारलाई पहिलो प्राथमिकतामा राखिने उनले बताए। घटनाबारे उपप्रमुख चौधरीले कान्तिपुरकर्मीसँग फोन सम्पर्कमा आफूले मंगलबार साँझसम्म धारणा सार्वजनिक गर्ने बताइन् । मंगलबार दिउँसो आफू एक कार्यक्रममा रहेकाले घटनाबारे बोल्न नपाएको उनले बताइन् ।

पालिका प्रेस
थप जानकारी