विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यक्रम भएको छ। थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा विकास घर शिखरकोटमा थाहानगरका सामुदायिक विद्यालयहरुको प्रतिनिधिहरुसंग ६ भाद्रमा समिक्षा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी तथा स्वास्थ्यकर्मी सन्तोष केसीले सहजीकरण गरेका थिए । समिक्षा गोष्ठीमा विद्यालय पढ्ने १ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई जुकाको औषधी वितरण कार्यक्रमको विस्तृत विवरण, १० देखि १९ वर्षसम्मका विद्यालयका किशोरीहरुलाई आइरन चक्कीको वितरणको अवस्था, दिवा खाजा वितरणमा उल्लेख भएको नगद वस्तुगत तथा टिफिन बक्स मोडल, मैत्रीपुर्ण फर्निचर तथा उचित हावा र प्रकाशको आपूर्ति, साबुनपानीको अवस्था र बालक्लव परिचालनको वर्तमान अवस्थाको बारेमा विद्यालय प्रतिनिधिहरुसंग अन्तरक्रिया तथा समिक्षा गर्दै आवश्यक योजना तर्जुमा गरिएको थियो।

समिक्षामा उपस्थित प्रायः विद्यालयमा उल्लेखित कार्यक्रमहरु संचालन गरेको पाइएको र किशोरीहरुको लागि आइरन चक्की भने विद्यालय ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम संचालनमा भएका विद्यालयमा मात्र नियमित र निरन्तरता रहेको पाइएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । कार्यक्रममा विद्यालयमा पनि किशोरी लक्षित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता प्राप्त भएको बलामीले बताए ।

कार्यक्रममा सहभागी विद्यालयका सहभागीहरुले दिवा खाजाको रकम अपुग रहेको गुनासो गरेका थिए । थाहा नगरका सामुदायिक विद्यालयका १ कक्षा देखि ६ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको ब्यबस्था छ। कार्यक्रममा नगरका २९ वटा सामुदायिक विद्यालयको सहभागी रहेको थियो।

पालिका प्रेस
थप जानकारी