मकवानपुरको राक्सिराङ गाउँपालिका–७ मा झोलुङ्गे पुल उद्घाटन गरिएको छ । स्थानीय शंकरखोलामा निर्मित एक सय १४ दशमलव ३० मिटर लामो झोलुङ्गे पुलको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले सोमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत राक्सिराङ गाउँपालिकासमेतको लगानीमा ४६ लाख १८ हजार रुपैयाँमा विकट गाउँमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणमा राडो नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । पुल निर्माण भएपछि राक्सिराङ ७ नम्बर वडाका गाइबाङ, दामराङलगायतका स्थानका २ सय ५० घरधुरीका करिब २ हजार जनसंख्या लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

२०७८ वैशाखामा निर्माण सुरु भएको पुल गत असारमा निर्माण सम्पन्न भएको हो । पुल उद्घाटन कार्यक्रममा राक्सिराङ ७ का वडाध्यक्ष रामबहादुर प्रजा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । पुल उद्घाटन गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले पुल निर्माणसँगै स्थानीयलाई सहजता भएको भन्दै त्यसको संरक्षणको दायित्व पनि स्थानीयको भएको बताए । आफूले प्रदेशमार्फत चालु आवमा कार्यान्वयन हुने गरी राक्सिराङमा थुप्रै झोलुङ्गे पुलका योजना हालिएको पनि बताए ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय सरकार आइसकेपछि विकासले फड्को मार्ने क्रममा रहेको बतए । विकट गाउँमा पुल र बाटो पुर्याउन गाउँपालिकाले धेरै कामहरु गरेको उनले सुनाए ।

पालिका प्रेस
थप जानकारी