चर्चामा रहने र सरकारले उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको इन्द्रजात्रा मकवानपुर थाहानगरको पालुङमा पनि मनाइन्छ । यसपालि २५ भाद्रमा परेको इन्द्रजात्रा थाहानगरको पालुङमा भव्यताको साथ मनाइएको छ । यद्यपि काठमाण्डौ उपत्यकाको सार्वजनिक विदाले थाहानगरको पालुङलाई छुँदैन । पालुङमा मनाइने इन्द्रजात्रालाई सरकारले महत्व दिने गरेको छैन ।

यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्रजात्रा मनाइन्छ । प्रत्येक बर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको पालुङ शहरमा मनाईन्छ ।

पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआजा गरि गणेश, इन्द्रायणी, भैरव, बाराही र कुमारीको नाच पालुङ शहरको डबलीमा नचाउने चलन छ । स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणीको पुजा गरि देवतालाई भित्र्याएपछि अब एकैचोटि अर्को वर्षको गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ ।

यसैबीच पालुङमा भएको इन्द्रजात्रा समारोह थाहा नगरपालिकाका नगगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा पालुङको सम्पदा तथा संस्कृति संरक्षणमा सहयोग गरेकोमा श्रीराम कार्की, माधव कार्की, विक्रम केसीलगायतलाईै कदरपत्रसहित सम्मान गरिएको थियो ।

नगर उपप्रमुख गोपालीले पालुङको स्म्पदा संरक्षणका लापिग पालिका र व्यक्तिगत तर्फबाट सहयोग हुने बताए । उनले नेवारी संस्कृति पहिचान भएको उल्लेख गर्दे यसलाई जोगाउनुपर्ने धारणा राखे । कार्यक्रममा इन्द्रायणी कालाभैरब गुठीका अध्यक्ष श्यामभक्त श्रेष्ठले स्वागत गरेका थिए । इन्द्रजात्रा समापनसंगै पालुङका नेवार समुदायले अबको तीन महिना इन्द्रायणी मन्दिरमा भाकलका पुजा नगर्ने र एकैपटक मंसिरको तीनवर्षे मेलामा मात्र गर्नेछन् ।

इन्द्रजात्रा समारोह पालुङ साँस्कृतिक सम्पदा संरक्षमण समितिका सचिव ध्रुव श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।

फोटोहरुः गणेश विष्ट