मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ र ३ जोड्ने पक्की पुल निर्माण कार्य सकिएको छ । थाहानगरको भुङ्दल खोलामा निर्माण गरिएको आर.सी.सी. सडक पुल सपना निर्माण सेवाले निर्माण गरेको हो । ‘सडक पुल निर्माण कार्य सकिएको छ, हस्तान्तरण मात्र बाँकी हो’– निर्माण कम्पनीका आकाश गुप्ताले भने । पुलबाट सवारी साधन आवागमन गर्न थालिसकेका छन् ।

भुङ्दल सडक पुल निर्माण कार्य आयोजना थाहा ३ का लागि भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गत यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय चितवनले बजेटको व्यवस्था गरेको हो । १६ स्पान तथा ८ मिटर चौडाई रहेको सो पुलको लागत ३ करोड २४ लाख ७९ हजार ५०८ रुपियाँ रहेको थियो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले २०७७ जेठ २४ गते सपना निर्माण सेवासंग योजना सम्झौता गरेको थियो ।

पुल निर्माण भएसंगै थाहा नगरपालिका वडा नम्बर २ र ३ मा आवतजावतका लागि सहज भएको छ । वर्षेनी वर्खाको बेला सडक सम्बन्ध विच्छेद हुने थाहा २ का लागि पुल निर्माण भएपछि स्थानीयहरु खुशी भएका छन् । थाहानगरका निवर्तमान नगर प्रमुख लवशेर विष्टले पुल निर्माण सम्पन्न भएकोमा सहयोग गर्ने पूर्वाधार विकास मन्त्रालय र निर्माण व्यवसायीलाई धन्यवाद दिए । आफ्नो कार्यकालमा जग हालेको विकास निर्माणका काम क्रमशः सम्पन्न हुँदै खुशीको कुरा भएको धारणा राखे ।

पालिका प्रेस
थप जानकारी