करिब एक किलोमिटर सडक सडक निर्माण हुन कतिसमय लाग्छ ? यो प्रश्न विकसित मुलुकमा गरिएको भए सम्भवत जवाफ १, २ वा ३ महिना आउँथ्यो ? नेपालमा यही प्रश्न गर्दा भरपर्दो र विश्वासिलो उत्तर पाउन मुस्किल छ । किनकि नेपालको फितलो कानुन र राजनीतिक पहुँच बनाएका निर्माण व्यवसायीको मनलाग्दीले उचित उत्तर आउँदैन । तर, हेटौंडामा एक वडा अध्यक्षले करिब १ किलोमिटर सडक निर्माण योजना ४० दिनमै सम्पन्न गरेका छन् । संघीय सरकारबाट बिनियोजित बजेट भए पनि वडा अध्यक्षको अथक प्रयासले ४० दिनमै ९ सय मिटर लम्बाई सडक निर्माण भएको हो । हेटौंडा उपमहानगरपालिका–९ का वडा अध्यक्ष सुकराम केसीले ४० दिनको अथक प्रयासपछि नदी तटबन्धनसहितको सडक निर्माण गरेका हुन् ।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट ९ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित केसी काम गर्ने वडा अध्यक्षका रुपमा परिचित छन् । एमालेको गढमा एमालेबाटै विभाजित भएको नेकपा (एकीकृत समाजवादी)का केसीले सानदारसँग निर्वाचन जितेका थिए । जस्तोसुकै र जतिबेला पनि स्थानीयको समस्यामा साथ दिने केसीले निर्वाचन जित्नुको पछाडि उनको व्यक्तित्व र छविलाई मूल्यांकन गर्न सकिन्छ । उनै केसीले निर्वाचन जितेको ४ महिनामा थुप्रै काम गरेका हुन् । उनले आफ्नै पहल र निरन्तरको प्रयासबाट कुखरेनी खोलाको पुलदेखि धापचोकसम्म तटबन्धनसहितको बाइपास सडक निर्माण गरेका हुन् ।

उनले तटबन्धनका लागि ड्याम उठाएर त्यसमाथि सडक बनाउँदा कुखरेनी खोलाको पुलदेखि धाप चोकसम्म करिब २ सय विगाह कृषि योग्य जग्गाको संरक्षण भएको छ । ९ नम्बर वडाको ठूलो कृषि क्षेत्र रहेको उक्त स्थानमा तटबन्धन बनेपछि वर्षामा कुखरेनी खोलाले खेत बगाउने त्रासबाट वडाबासी मुक्त भएको केसीले जानकारी दिए । उनले संघीय सरकारको साढे ३ करोड लागतमा तटबन्धनसहितको सडक निर्माण गरेका हुन् । ‘मैले जेठ १५ गतेदेखि काम सुरु गरेको हो, ठ्याक्कै ४० दिनमा काम सकियो । चासोका साथ खटेर काम गरे समयमै सकिन्छ । तटबन्धनसहित सडक बनाउँदा खेत पनि जोगियो, सडक पनि बन्यो’, केसीले भने ।

वडाध्यक्ष केसीकै प्रयासमा कुखरेनी खोलाको पुलदेखि त्रिवेणीधामसम्मको १ सय ३५ मिटर तटबन्धन पनि निर्माण भएको छ । त्रिवेणीधामदेखि कर्रा र राप्ती खोला दोभानसम्मको ४५ मिटर क्षेत्रमा पनि तटबन्धन निर्माण भएको केसीले जानकारी दिए । केसीले आफू निर्वाचित भएर आएपछि हेटौंडा सिमेन्ट उद्योगको सहयोगमा वडा कार्यालय अगाडि १ सय ४५ मिटर सडक स्ल्याब ढलान गरेका छन् । घाप टोल विकास क्षेत्रमा २ सय मिटर स्ल्याब ढलान निर्माण भएको छ भने वडा कार्यालयले ९५ जना स्थानीयलाई ५ दिनसम्म कौसी खेती खेती तालिम दिइएको थियो ।

वडा कार्यालयले स्थानीय लामसुरे स्वास्थ्य केन्द्रमार्फत् स्थानीयहरुलाई औषधि वितरण गर्न आफ्नै बजेटबाट औषधि खरिद गरेको केसीले बताए । केसीले वडाध्यक्ष भएर आएपछि वडामा रहेका २४ वटा टोल विकास संस्थालाई अभिमुखीकरण दिएका छन् ।

चालू आर्थिक वर्ष २०७९÷०८० का लागि ९ नम्बर वडामा वडाको मात्रै ३० वटा योजना छ । जसमध्ये १५ वटा योजनाको प्राविधिक मूल्यांकन भएर कार्यान्वयनको चरणमा लैजाने  तयारी भइरहेको केसीले बताए । ५ वटा योजनाको सम्झौता भएर काम सुरु भइसकेको उनको भनाइ छ । ९ नम्बर वडाभित्र प्रदेश सरकारबाट ५ करोड बजेट बिनियोजन भएको छ ।वडाध्यक्ष केसीका अनुसार ९ नम्बर वडा र १४ नम्बर वडा जोड्ने पुल निर्माणका लागि १ करोड बढी बजेट प्रदेशबाट आएको छ । मानव सेवा आश्रममा पार्क निर्माणका लागि पनि १ करोड बजेट आएको उनले बताए ।कर्रा पुलदेखि त्रिवेणी धामसम्मको क्षेत्रमा पर्ने खोला क्षेत्रमा जलाशय निर्माणका लागि डीपीआर बनाउन १६ लाख छुट्याइएको उनले बताएका छन् । कर्रा पुलसँगै रहेको गुम्बा क्षेत्रबाट हेटौंडा सिमेन्ट उद्योगसम्म नक्साअनुसारको सडक स्तरीकरण गरिने र दिव्य बाल उद्यानका लागि योजना रहेको जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी