संघीय संरचनापछि पहिलोपल्ट कालीकोटका २ गाउँलाई अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित घोषणा गरिएको छ । शुभकालिका–६ हाउडी र तिलागुफा–८ ओखरभिट्टालाई शुक्रबार औपचारिक रूपमा अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित वडा घोषणा गरिएको हो ।

सार्वजनिक शिक्षा सुधारका लागि नियमित अनुगमन गर्ने, सिकाइ उपलब्धि मापन गर्ने, शिक्षक विद्यार्थी नियमिततालाई बढाउने कार्ययोजनासहित समुदायका सबै बालबालिकालाई कक्षा ८ सम्म पढाउने घोषणा गरिएको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए । उनका अनुसार सबै विद्यालयको भौतिक पूर्वाधारको सुधार, डिजिटल प्रविधिबाट कक्षा सञ्चालन, शून्य दरबन्दी भएको विद्यालयमा शिक्षक व्यवस्थापन, बालविकास केन्द्र्र थपलगायत योजना अघि सारिएको छ ।

‘शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहको प्रतिबद्धतास्वरूप अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गरिएको हो,’ उनले भने, ‘यसले शिक्षक, अभिभावक र विद्यार्थीलाई थप जिम्मेवार बनाएको छ ।’ गाउँपालिकामा सहयात्रा परियोजना लागू भएपछि शैक्षिक गुणस्तर बढ्दै गएको उनले जानकारी दिए ।

पञ्चे बाजासहित देउडा र विभिन्न नृत्य प्रस्तुत गरिएको कार्यक्रममा बाल विवाह नगर्ने/नगराउने प्रतिबद्धता पनि गरिएको छ । गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले शिक्षाको माध्यमबाट चेतनाको स्तर बढ्ने भएकाले सबैखाले हिंसा अन्त्य गर्न पनि शिक्षामा लगानी बढाइएको बताइन् । उनका अनुसार हाउडीगाउँलाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित घोषणा गरी विद्यालयमा हुने राजनीतिक हस्तक्षेप बन्द गर्ने प्रतिबद्धता गरिएको छ । ‘अब बालबालिकालाई झिकाउने, टिकाउने, सिकाउने र बिकाउने लक्ष्य ल्याएका छौं,’ उनले भनिन्, ‘सामुदायिक विद्यालयहरूमा पनि अभिभावकको सक्रियता बढिरहेको छ ।’

पालिका प्रेस
थप जानकारी