पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा भित्र्याउने परम्परा अनुसार बढाइँसहित फुलपाती भित्र्याइएको हो । नगरका जनप्रतिनीधिहरुको उपस्थितीमा इलाका प्रहरी कार्यालय पालुङले शुभ साइतमा बढाई गरी दशै घरमा फुलपाती भित्र्याइएको हो ।

आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ । दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् । फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पुजाविधि अनुसार शुभ साइतमा बली सहित बढाई गरेपछि पालुङको दशै घरमा फुलपाती भित्र्याउने पुरानो चलन हो । शुभ साइतको बढाइँको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनालले संयोजन गरेका थिए ।

परापूर्व कालदेखिदेखि नै संचालन हुँदै आएको परम्परा तत्कालिन प्रधानपञ्चको नेतृत्वमा हु“दै आएको भए पनि मुलुकमा बहुदल आएपछि दामनपालुङ आर्थिक विकास सहयोग समितिले व्यवस्थापन गर्दै आएको थियो । हाल उक्त परम्परालाई थाहा नगरपालिकाले सहयोग गर्दै आएको छ । पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फुलपाती लगेर आफ्नो घर–घरमा लगि भित्र्याउने परम्परा छ । त्यसोतः स्थानीय गुठीहरु तथा थाहानगर प्रमुख विष्णु विष्ट र उपप्रमुख भरत गोपालीलाई घरमा भित्र्याउनको लागि दशैघरबाट फुलपाती पठाइएको छ ।

यस संस्कृति र परम्परा जोगाउँदै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा नगरलाई विकास गर्न समेत सघाउ पुग्ने भएकोले पुरानो परम्परा ब्युताउन सहयोग पुग्ने नगर प्रमुख विष्णु विष्टले प्रतिक्रिया दिए । पुरानो परम्परामा नै पहिचान हुने भएकोले यस्तो चालचलन जोगाउन सँधै प्रतिवद्ध हुने उनको भनाइ थियो । फुलपाती भित्र्याउने कार्यक्रममा नगर प्रमुख विष्णु विष्ट, उपप्रमुख भरत गोपाली, थाहा–२ का वडा अध्यक्ष बम बहादुर सिन्तानको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल, पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, नेकपा एमाले थाहानगर अध्यक्ष अच्युतम प्रसाद ढकाल, पूर्व जनप्रतिनीधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकायको उपस्थिती उपस्थिती रहेको थियो ।

दशै घरमा घटस्थापनाको दिन स्थानीयहरुले सामुहिक जमरा राखेका छन् । पालुङको दशै घरमा महाअष्टमी राती कालरात्री गरिन्छ । महानवमीको दिन दशै घर नजिकैको कोतमौलामा कोतपुजा र विजयादशमीको दिन टीका तथा जमराको कार्यक्रम समेत हुने स्थानीय निरोज प्रधानले जानकारी दिए । यस अघिसम्म निवर्तमान नगर प्रमुख लवशेर विष्ट टिका जमरा कार्यक्रममा सहभागी हुने गरेका थिए ।

 

 

गणेश विष्ट
थप जानकारी