मकवानपुरको थाहा नगरपालिकाले थाहा फोटो प्रर्दशनी–२०७९ आयोजना गर्ने भएको छ । काठमाडौंको बसन्तपुरको कालभैरव डवलीमा कार्तिक १८, १९ र २० गते आयोजना गर्न लागिएको हो ।

पर्यटन प्रर्वद्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न आउने पर्यटकको लागि प्रेरित गर्ने उद्देश्य सहित तीन दिने फोटो प्रर्दशन आयोजना गर्न लागिएको थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए ।

प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामिण जिवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिने नगरप्रमुख बिष्टले बताए ।

फोटो प्रर्दशनी काठमाडौं उपत्यकाको विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरेर आयोजन गरिएको हो ।

प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिने छ । त्यस्तै तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिने छ भने कार्यक्रम स्थालमा सुचना केन्द्र समेत स्थापना गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी  प्रर्दशनीमा राखिएका विभिन्न फोटोहरुको बारेमा जानकारी दिन स्वयम्सेवकहरु समेत ब्यवस्था गरिने छ । प्रर्दशनी प्रत्येक दिन विहान १० बजेदेखि साँझ ४ बजेसम्म चल्नेछ ।

कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले कार्तिक १८ गते विहान साँढे ११ बजे तय भएको कार्यक्र्रम संयोजन इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।उनले कार्यक्रममा उपस्थितीको लागि सम्पुर्णमा आग्रह समेत गरेका छन् ।

पालिका प्रेस
थप जानकारी