सोनाम ल्होसारको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकाको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ल्होसार साँस्कृतिक मेला आयोजना गरिएको छ । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले मेलाको उद्घाटन गरेका हुन् ।

ग्रामिण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । डाँफेमुनाल पार्कलाई अझ आकर्षक पर्यटकिय केन्द्रको रूपमा विकास गरिने उनले बताए । मेला समारोहमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले कैलाशको पर्यटन विकासका लागि मनहरी गाउँपालिकाले सहकार्य गर्ने बताए । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले कैलाशको पर्यटकिय क्षेत्रलाई मद्दत पुग्नेगरि आफ्नो पालिकामा पर्यटकिय क्षेत्र बनाउनका लागि एक करोड रूपैंया विनियोजन गर्ने बताए । कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडाध्यक्षहरु तेजबहादुर ब्लोन, उदासकुमार भ्लोन, सुर्यबहादुर ब्लोन, भुवनसिं घलान, देवलाल बल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नम्वर २ का अध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा भएको थियो ।

मेलाकै अवसरमा भाईरल पिङको उद्घाटन समेत गरिएको थियो । कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा डाँफेमुनाल पार्कमा १५ लाख रूपैंयाको लागतमा पिङ निर्माण गरिएको थियो । साँस्कृतिक मेलामा गायिकाहरू रजनी लामा, प्रतिमा अर्याल, सुमन थापा मगर, लोक गायक रामकुमार नेपाली, श्याम राना, सेलो गायक योगेश लामाले प्रस्तुति दिएका थिए । यसैगरि कलाकार राजुमान रूम्बाले क्यारिकेचर प्रस्तुत गरेका थिए ।

मेलामा स्थानीय तामाङ समुदायको संस्कार र सँस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावा लगायतका झाँकिहरुको प्रस्तुती समेत गरिएको थियो । तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८५९औँ सोनाम ल्होछार २०७९ ह्योई ल्हो (बिरालो वर्ग)को अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको बैकुण्ठमा पहिलो पटक मेला भएको हो । यस वर्ष बाघ वर्षलाई बिदाइ गर्दै बिरालो वर्षलाई स्वागत गर्दै ल्होछार मनाइएको छ ।

-प्रदेश सञ्चारबाट

पालिका प्रेस
थप जानकारी