हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा भएको छ । संघीय सरकारले थालेको पूर्ण खोप सुनिश्चितता गर्ने अभियान अन्तरगत उपमहानगरको पहिलो वडाको रुपमा हेटौंडा ६ पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा भएको हो ।

आज बुधबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले वडालाई पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेकी हुन् ।

नगरप्रमुख लामाले ‘१८ देखि २३ महिनाका बालबालिकाले २ वर्षभित्र पूर्ण खोप पाएको तथा वडाका सबै गर्भवतीहरु स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको सुनिश्चित गरिएको हुँदा’ यसलाई भविष्यमा पनि कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षण गरेकी थिइन् ।

अभियानको उद्घाटन गर्दै नगर प्रमुख लामाले स्वास्थ्य सेवाको स्तरबृद्धिका लागि उपमहानगर लागिरहेको बताइन् । उनले स्वास्थ्यमा सुधारसँगै नगरलाई बालमैत्री घोषणाका लागि सबैको सहयोग आवश्यक भएको बताइन् । उनले नगरवासीलाई स्वास्थ्य सुबिधाबाट बञ्चित गराउँनु हुँदैन भन्ने उद्देश्यले उपमहानरले अहिलेसम्म १ हजार ४५२ जनाको निःशुल्क स्वास्थ्य बिमा गरेको जानकारी दिइन् ।

घोषणा प्रकृया पूरा गर्नका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमार्फत वडाको सर्वेक्षण गरी तथ्याङकको प्रमाणीकरण निर्देशिका बमोजिम पूरा गरेको स्वास्थ्य चौकीका प्रमुख टिएन ढुङगेलले बताए । घोषणाका लागि स्वास्थ्य चौकीले वडामा रहेका ८८ बालबालिकालाई पुर्ण खोप दिएको, १०२ जना गर्भवतीले स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको जानकारी दिइएको थियो ।

घोषणासँगै वडामा टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियानको पनि सुरुवात भएको छ । वडामा रहेको २३ वटा टोल विकास संस्थाको घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने अभियानको पनि बुधबारबाटै सुरुवात भएको स्वास्थ्य चौकी प्रमुख ढुङ्गेलले बताए । हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता दिपक तिवारीले भएको कामलाई दिगो बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

पालिका प्रेस
थप जानकारी