पर्यटकीय दृष्टिकोणले मकवानपुर जिल्ला प्रसिद्ध छ । जिल्लाका विभिन्न पालिकामा भएका पर्यटकीय आकर्षणकै कारण समग्र जिल्ला नै पर्यटकीय जिल्लाको रुपमा परिचय बनाउन सफल भएको हो । हेटौंडाको शहीद स्मारक, गुम्बाडाँडा, मकवानपुरगढी गाउँपालिकाको मकवानपुरगढी, मनहरीको पिसपार्क, कैलाशको डाँफेमुनाल पार्क, राक्सिराङको चेपाङ संग्राहलय, भिमफेदीको लटरम्मेश्वर त उदाहरण मात्र हुन् । बागमती र बकैया गाउँपालिकामा पनि यस्ता पर्यटकीय गन्तव्य भरपुर छन् । यसका अलवा थुप्रै पर्यटकीय आकर्षणका केन्द्रहरु जिल्लाका विभिन्न पालिकाहरुमा छन् । कतिपय पार्कहरुको रुपमा छन् भने कति त प्राकृतिक रुपमै मनोरम स्थलहरु छन् ।

काठमाण्डौंबाट नजिक भएको कारण पनि जिल्लाको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका विभिन्न क्षेत्रहरु पर्यटकको रोजाईमा पर्न थालेको छ । थाहानगरको चित्लाङ, बज्रवाराही, दामन, सिमभञ्ज्याङ, टिष्टुङ, पालुङ र आग्रा पर्यटकीय आकर्षणका स्थलहरु बनेका छन् । थाहानगरसंगै जोडिएको इन्द्रसरोवर गाउँपालिकाको मार्खु स्थित कुलेखानी ताल तथा मोहिनी झरना पनि पर्यटकको अर्को ‘कम्पलसरी सब्जेट’ बनेका छ ।

अब चर्चा गरौं थाहा–इन्द्रसरोवरका घुम्न छुटाउनै नहुने ८ गन्तव्यः

१. चित्लाङ तथा भेडाफर्म (बाख्रा विकास फार्म):

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ मा पर्ने चित्लाङ प्राकृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाले भरिपुर्ण छ । चित्लाङ गाउँमा यतिबेला जहाँ हे¥यो, त्यहीँ हरियो देखिन्छ । तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड । बनै हरियो, मनै हरियो । हरिलो, भरीलो र झरीलो मौसममा मकवानपुरको रमणीय पर्यटकीय गाउँ चित्लाङ झन् आलोकित भएको छ, यतिबेला ।

  चित्लाङमा शुक्रवार र शनिवारको विदा मनाउन जानेहरुको चहल–पहल बढेको छ । झन नयाँ वर्ष तथा अन्य पर्वमा त चित्लाङमा थामी नसक्नुको भिडभाड हुन्छ । धुलो, धुवाँ र ध्वनिको त्रासले गाँजेको काठमाडौंबाट उम्किएर केही दिन नजिकैको शान्त, सुरक्षित र रमणीय ठाउँमा जान चाहनुहुन्छ भने चित्ताकर्षक चित्लाङ नम्बर वान विकल्प हो । काठमाडौबाट बसमा थानकोटसम्म पुगेपछि अग्लो चन्द्रागिरी डाँडो देखिन्छ । चन्द्रागिरी डाँडो छिचोल्न हाईकिङ गर्नेहरुलाई बढीमा तीन घण्टा लाग्छ । बस या जीपमा पनि जान सकिन्छ । हरियै जंगलको विचबाट नागबेली बाटो हुँदै त्यो डाँडो पार गर्नासाथ दक्षिणतिर देखिन्छ– समुद्र सतहबाट १७ सय मिटर उचाइमा रहेको रमणीय चित्लाङ गाउँ ।

थानकोटदेखि चन्द्रागिरिको टुप्पोसम्म केवलकार सञ्चालन भएपछि चित्लाङ पुग्ने अर्को बाटो खुल्ला भए सरह भएको छ । थानकोटको गोदाम नजिकैको केवलकार स्टेशनबाट पनि चन्द्रागिरी पुगेर त्यहाँदेखि हिँडेर वा सवारी साधन प्रयोग गरेर चित्लाङ पुग्न सकिन्छ । देशको पहिलो बाख्राको दुधबाट चिज उत्पादन कहाँबाट सुरु भयो ? भन्दा चित्लाङकै नाम आउँछ । भिमफेदी हुँदै काठमाडौसम्म गाडी बोकेर चित्लाङकै बाटो हुँदै लगिएको थियो । सातधारा, अशोक चैत्य, भेडा फार्म, स्वच्छन्द भैरव मन्दिर चित्लाङको आकर्णहरु हुन । काठमाडौंबाट मात्रै २० किलोमीटर दुरीमा सहजै चित्लाङ पुग्न सकिन्छ । चित्लाङमा सुबिधा सम्पन्न होटल, रिसोर्ट तथा होमस्टेहरु प्रसस्त छन् ।

२. इन्द्रसरोवर ताल:

तत्कालीन राजा वीरेन्द्र शाहको पालामा विद्युत उत्पादन गर्न पानी सञ्चय गर्ने लक्ष्यले जलाशय निर्माण भएको थियो । श्री ५ युवराज्ञी इन्द्र राज्यलक्ष्मीको सम्झनामा यसको नामाकरण गरिएको हो । नेपालमा महत्वपूर्ण विद्युत आपूर्ति गर्दै आएको इन्द्रसरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । प्रकृतिले बनाएका जलाशय र तालहरु बाहेक यति ठूलो ताल नेपालमा मान्छेले बनाउन सकेका छैनन् ।

नेपालकै एकमात्र मानव निर्मित ताल छ जसलाई इन्द्रसरोवर वा कुलेखानी नामले चिनिन्छ । इन्द्रसरोव ७ किलोमिटर दूरीमा फैलिएको छ । इन्द्रसरोवर मौसम अनुसार रंग बदल्न सिपालु छ । वर्षा मौसममा हिले रंगमा बदलिने ताल शरद ऋतुमा पात पतिंगर कुहिएपछि लेउ लाग्दा हरियो देखिन्छ । हिउँदमा खुलेको नीलो आकाशसँगै सरोवर फेरि नीलो हुन्छ । वरिपरि माथिल्लो भेगमा बस्ती तथा तल्लो भेगमा जंगलले घेरिएको सफा नीलो पानीको यस दहले यहाँ आइपुग्ने प्रायः आन्तरिक पर्यटकलाई मन्त्रमुग्ध पार्छ । शहरी कोलाहलबाट त्यहाँ पुग्ने सबैलाई यसको शान्त अवस्थिति, परिवेश र जंलले शीतलता र शान्तिको अनुभूति गराउँछ ।

पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको तालको पानी उपयोग गरी विद्युत् उत्पादन गरेकाले वीरगन्ज, विराटनगर, चितवन, बुटवल, पोखरालगायत क्षेत्रबाट यहाँ पर्यटक आउने गर्छन् । इन्द्रसरोवर नेपालीको जलविद्युतको लाइफलाइन मात्रै होइन एउटा सुन्दर पर्यटकीय स्थल पनि हो । यहाँ बाह्रैमहिना ढुंगा सयर गर्न पाइन्छ । जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको छ । विद्युत आयोजनाले विजुली मात्रै दिँदैन, पर्यटकीय एवं प्राकृतिक सौन्दर्यलाई पनि यति सुन्दर बनाउँदोरहेछ भन्ने प्रमाण कुलेखानीमा हेर्न पाइन्छ । कुलेखानी वरिपरिका पाखा र डाँडाकाँडा यति मनमोहक छन् कि प्रकृतिको सुन्दरता नियाल्न युरोप वा अमेरिका पुग्नै पर्दैन, नेपाल यसका लागि पर्याप्त छ । काठमाडौं र हेटौडाबाट जलाशयमा डुंगा शयरका लागि मानिसहरु इन्द्र सरोवरसम्म पुग्ने गर्छन् ।

इन्द्र सरोवर जानको लागि धेरै बाटोहरु छन । काठमाडौंबाट इन्द्रसरोवर पुग्न तीन रुटका मोटर मार्ग छन् । फर्पिङ हुँदै ४५ किमि, सिस्नेरी हुँदै ५५ किमि र चन्द्रागिरीबाट चित्लाङ हुँदै ३० किमिको दुरी पर्दछ । सार्वजनिक यातायातका साधन समेत पाइन्छ । तराईबाट हेटौडा–भिमफेदी भएर इन्द्रसरोवर जाने हो भने देउराली डाडाँबाट मुल सडक छाडेर इन्द्रसरोवरको डयाम साइडतर्फ लाग्नु पर्दछ । देउरालीबाट जलाशयको डयाम ७ किलोमिटर पर्दछ । डयाम देखि ७ किलोमिटर यात्रा गरेपछि इन्द्र सरोवर तालको किनारमा रहेको बजार क्षेत्रमा पुगिन्छ । भर्खरै मात्र ताल माथिको जिपलाईन पनि सुरु भएको छ । यहाँ बस्न र खानाको लागि स्तरीय होटल तथा रिसोर्ट छन् ।

३. दामन–सिमभञ्ज्याङ:

मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ प्राकृतिक छाँटाले भरिपूर्ण छ । यहाँ हिउँदका बेला वर्षेनी हिउँ पर्ने भएकोले पनि यसको परिचय थप मजबुद भएको हो । काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै त्रिभुवन राजथबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ । चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट जाने हो भने अझ छिटो पुगिन्छ । यस्तै दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टिस्टुङ निस्केर अर्को वैकल्पिक बाटो छ । हेटौंडाबाट करिब ५५ किलोमिटर पार गरेपछि दामन पुगिन्छ ।

दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ४ सय ८८ मिटर उचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ । राजधानीका साथै हेटौंडा, वीरगञ्ज, चितवन लगायत तराई क्षेत्रबाट दामन सिमभन्ज्याङ उक्लने युवायुवती यहाँ बग्रेल्ती भेटिन्छन् । दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । थानकोटबाट चन्द्रागिरी हँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ । दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् ।

दामनमा सुविधासम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ । ग्रामीण जीवनशैलीको आनन्द उठाउने हो भने कुन्छाल तथा पालुङमा होमस्टे सुविधा पनि छन् । दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरमा हजारौं श्रद्धालु आउँछन् । ‘चिसो भनेकै दामन’ भनेझैं, दामन सिमभञ्ज्याङ क्षेत्र बार्है महिना चिसो रहने गर्छ, धेरैजसो गर्मि याममा चिसोपनको महसुस गर्न, भारत तथा नेपालको तराई क्षेत्रका मानिसहरु दामन पुग्ने गर्छन् । दामन नजिकै ऋषेश्वर मन्दिर, भ्युटावर, फलामे भर्याङ, हिमशृङ्खला अवलोकन, शितोष्ण बागबानी तथा सुन्दर प्रकृतिसंग रमाउन पर्यटकहरु दामन जाने गर्दछन् । दामनमा सुबिधासम्पन्न होटल, रिसोर्टहरु प्रसस्त छन् ।

४. कुन्छालः

मुलुककै जेठो राजमार्ग ‘त्रिभुवन राजमार्ग’ मुन्तिर टिष्टुङमा बज्रबाराही मन्दिर नजिकै सडक माथि सबैका आँखा पर्छन । भित्तापट्टि एकनासका घर छन् । ढुँगा, ईंटा र माटोबाट बनेका घरमा टायले छाना । यो सुन्दर गाउँ हो– कुन्छाल। थाहा नगरपालिका वडा नम्बर १, कुन्छालमा २ सय ५० जति घर छन् । सबै घर गोपालीका । गोपाली काठमाडौं उपत्यकाका पुराना बासिन्दा । उनीहरु साँस्कृतिक र प्राकृतिक हिसाबले समृद्ध छन्।


चित्लाङ गाउँ नजिकैको कुन्छालमा होमस्टे सुविधा शुभारम्भ गरिएको छ । टिपिकल नेवार बस्तीमा आत्मीयता र मिठो परिकार पाइन्छ। गाउँको घना बस्ती माथि जंगल छ । पारिपट्टि मिलेका खेतका गरा छन् । गाउँमा कलात्मक झ्याल ढोकायुक्त घर छन् । नेवार भाषामा लेखिएका केही शिलालेख पनि छन् । कुन्छालमा एग्रो टुरिजमको संभावना छ । गाउँलेहरु कृषिकर्ममा रमेका छन् । उनीहरु धान, आलु, गहुँ, मकै र सिजनेवल तरकारी फलाउँछन् । भैंसी, र बाख्रा पाल्छन् । केही वर्ष अघिसम्म घरघरै तानमा कपडा बुनिन्थ्यो । अचेल ती तान थन्क्याइए पनि पुनः संचालनमा ल्याउन युवा पुस्ता जुटेका छन् ।

गाउँको शिरानमा गणेश मन्दिर छ । कुन्छाल सेरोफेरोमा बज्रबाराही मन्दिर छ । कुन्छाल होमस्टेमा बसेकाहरु हिमाल हेर्न मुलाबारी (मनकामना क्षेत्र) हाइकिङ गर्नु पर्छ । त्यहाँ पुग्न गाउँबाट डेढ घन्टा लाग्छ । दामन २२ किमिमा पर्छ भने चित्लाङ ८ किमिमा । पाहुनाको डिमाण्ड अनुसार होमस्टे व्यवस्थापन समितिले डबलीमा साँस्कृतिक कार्यक्रम देखाउँछ । त्यसमा हिले नाचका झलक देखाइन्छ । नेवार बस्ती भएकाले साथमा लाखे नाच त भइहाल्छ । कुनै पनि ठाउँ घुमेर फर्किंदा स्थानिय कोसेली ल्याउने बानी बसाल्नु पर्छ । त्यसो भयो भने गाउँमा उद्यमशिलता विकासमा टेवा पुग्छ । कुन्छालबाट गुन्द्रुक, सिजनेवल तरकारी, सन्चाना, किवि र भुइँ स्याउ कोसेली ल्याउनु बेस हुन्छ।

काठमाडौंको थानकोट गोदामबाट चन्द्रागिरी भञ्ज्याङ हुँदै कुन्छाल ३१ किमि । काठमाडौं फर्पिङ कुलेखानी हुँदै कुन्छाल ५५ किमि । काठमाडौं नौबिसे हुँदै बाइरोडबाट कुन्छाल ६५ किमि ।

५. मोहिनी झरना:

जहाँ पुगेपछि हामी मोहित हुन्छौं, जहाको सुन्दर्ताले मन फुरुङ हुन्छ । जस्तो नाम उस्तै अनुभुती, मोहिनी झरना ।

प्रकृतिसंग रमाउने व्यक्तिको लागि यो गन्तव्य निकै उत्कृष्ट मानिन्छ । इन्द्रसरोवर तालको मार्खुबाट डुङ्गा चढेर यहाँ पुग्न सकिन्छ । यसका अलवा थाहानगरको दामन सिमभन्ज्याङ घुम्न पुगेका पर्यटकहरु पनि दामन हुँदै यस झरनामा पुग्न सक्छन् भने चित्लाङको टौखेल नजिकैको शेरा बाट पनि यहाँ पुग्न सकिन्छ ।

यहाँ दैनिक सयौ पर्यटकहरु पुग्ने गर्दछन् ।

६. नर्वे ढुङा:

साहसिक पर्यकको निम्ति उत्कृष्ट गन्तव्य हो, नर्वे ढुङ्गाा । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ११ मा पर्ने पर्ने नर्वेढुङ्गाा हेर्न र चढ्न लायक छ । यस ढुङ्गामा चढेर फोटो खिच्नु नै यहाँको आकर्षण हो । नर्वे भन्ने देशमा यस्तै आकारको ढुङ्गामा पर्यटकहरु घुम्न जाने र सोही आकार र अवस्थाको ढुङ्गा भएकोले यसलाई नर्वे ढुङ्गा नाम दिइएको हो ।

नर्वेढुङ्गा जाने बाटैमा खुकुरी पार्क, मुस्कान झरना र तामाङ संस्कृति झल्कने संग्राहलय पनि छ । काठमाडौंबाट बाईरोडको बाटो हुँदै २ घण्टामा यहाँ पुग्न सकिन्छ । टिष्टुङको देउराली नजिकै सडक छेवैमा ‘नर्वे ढुङ्गा जाने बाटो’ लेखिएको बोर्ड समेत राखिएकोले पर्यटकहरुलाई पुग्न सजिलो भएको छ ।

७. पालुङ:

पालुङको आलु देशमै प्रख्यात र स्वादिष्ट मानिन्छ । पालुङमा धेरै धार्मिक सम्पदाहरु छन् । हुन त पालुङ बेमौसमी तरकारी उत्पादन क्षेत्रको रुपमा कहलिएको स्थान हो । विश्वको ३ शंखमुल मध्ये एक शंखमुल पालुङमा नै पर्छ ।

पाण्डुकेश्वर मन्दिर, गोरखनाथ मन्दिर, शंखमुल, पाथिभरा, ईन्द्रायण्ीा मन्दिरहरु पालुङका प्रमुख धार्मिक सम्पदाहरु हुन । धार्मिक अन्वेशकको निम्ति पालुङ उत्कृष्ट गन्तव्य हो । पालुङमा सुबिधा सम्पन्न होटल, रिसोर्ट तथा होमस्टेहरु सन्चालनमा छन् । यहाँ काठमाडौ बाट ६५ किलोमीटर दुरीमा पुग्न सकिन्छ ।

८. उनिउ चौर, आग्रा:

नयाँ पर्यटकीय गन्तव्य हो उनिउँ चौर, झट्ट हेर्दा हरियो तन्ना बिच्छाएझैै लाग्ने चौरको बिचमा बसेर, बादलको लुकामारी र हाँसेको हिमाल हेर्दा कस्को मन प्रफुल्ल हुन्छ । थाहा नगरको आग्रामा पर्ने उनिउचौर अहिले धेरैको घुम्नै पर्ने ठाउँको रुपमा रोजाईमा परिरहेको छ ।

आग्रा आफैमा एक पर्यटकिय गन्तव्य हो । यहाँ तामाङ जातिको बाहुल्यता छ । सप्तकन्या गुफा, आकाशे फाँट, डाँडाबास बजार, चिसापानी लगायत ठाउँहरु निकै सुन्दर छन् । आग्राको डाँडाबासमा बस्नका लागि केही होटलहरु छन् । काठमाडौंबाट पालुङ हुँदै पनि आग्रा जान सकिन्छ भने धादिङको महादेववेशीबाट छोटो दुरिमै पुग्न सकिन्छ आग्रा ।

गणेश विष्ट
थप जानकारी