इन्द्रसरोवर गाउँपालिकाले आफ्नो सेवा प्रवाह, विकास निर्माण र सार्वजनिक सरोकारकार विषयमा आम नागरिकको गुनासो सुन्न सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले पालिकाले निष्पक्ष भएर नागरिकको पक्षमा काम गरिरहेको बताए ।

‘कुनै नागरिक कुनै काम वा समस्या लिएर पालिका आउँदा हामीले उहाँको काम सम्पन्न गरेरै पठाउँछौं, भएन भने के कारणले भएन के कागजात पुगेन भनेर पठाउँछौं’, उनले भने, ‘हामीले कुनै पार्टी, समुदाय र भुलोग नभई समग्र पालिकालाई केन्द्रमा राखेर काम गरिरहेका छौं ।’ आम नागरिकले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष पुडासैनीले ४ वर्षपछि आम नागरिककै रुपमा आफू जनताको माझमा रहने भएकाले कुनै आग्रह पूर्वाग्रह नराखी काम गरिरहेको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले भौतिक पूर्वाधारसँगै शिक्षा, पर्यटन, कृषि लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको बताइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्कीले सिमित स्रोत र कर्मचारीको भरमा पालिकाको समग्र विकास र सेवा प्रवाहको काम गरिरहेको बताए । कार्यक्रममा सहभागी स्थानीयहरुले कृषि अनुदान, नदीजन्य पदार्थ उत्खनन्, गुम्बा तथा गुफा संरक्षण, फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार तथा बस सञ्चालन, सार्वजनिक सौचालय निर्माण तथा सुधार लगायतका विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाका करिब डेढसय स्थानीय सहभागि थिए । एस.एम.एस. मिडिया प्रालिले संयोजन गरेको कार्यक्रममा २ नम्बर वडा अध्यक्ष सुमन श्रेष्ठ, ३ नम्बर वडा अध्यक्ष प्रताप भोम्जन, ४ नम्बर वडा अध्यक्ष चन्द्र कुमार बल, ५ नम्बर वडा अध्यक्ष दुतराज तितुङ, गाउँ कार्यपालिका सदस्य तथा वडा सदस्यहरु,पालिकाको विषयगत शाखा प्रमुखहरु लगायतको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी