‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नारालाई सार्थकता दिन, ‘अबको कदम, लघु उद्यम’ भन्ने नाराको साथ लघु उद्यमशीलताको प्रवद्र्धन गर्न र ‘जानै परे जानेर जाऔँ’ भन्ने नाराका साथ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन एकीकृत रुपमा कार्यक्रम संचालन गर्ने नीति थाहा नगरपालिकाको रहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार सेवा केन्द्र, सुरक्षित आप्रवासन कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी रुपमा संचालन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उद्यमशिलता र उत्पादनसहितको न्यूनतम रोजगारी सिर्जना हुनेगरी सञ्चालनमा ल्याइने, आयोजनाको दिगोपनामा ध्यान दिई दक्ष कामदार तथा आवश्यक सामग्री खरिदमा स्थानीय सरकारको तर्फबाट साझेदारी गर्ने नीति पालिकाको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका थाहा नगरबासीलाई पुनः एकीकरण कार्यक्रममा सहभागी गराई विदेशमा रहँदा उहाँहरुले हासिल गरेको सीप, ज्ञान, अनुभव, पूँजी र प्रविधिलाई स्थानीय आर्थिक विकासमा लगाउन प्रोत्साहित गर्ने, वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्नेमा उक्त कार्यका लागि नगरपालिकाको रोजगार सेवा केन्द्रबाट सहजीकरण गर्ने व्यवस्था मिलाइने, नयाँ श्रम स्वीकृतिका लागि अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने र स्वास्थ्य परीक्षण गर्नुपर्नेमा सोका लागि समेत नगरमै सुविधा प्रदान गर्नका लागि पहल गर्ने पालिकाको पारित नीतिमा उल्लेख छ ।

‘पाहुनालाई कोसेली, स्थानीयलाई रोजगारी’ भन्ने नाराका साथ नगरपालिका र मातहतका कार्यालयहरुबाट सञ्चालन हुने कार्यक्रममा प्रयोग हुने सामानहरु खरिद गर्दा नगरमा लघुउद्यमीहरुले उत्पादन गरेका हस्तकला लगायत स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिइनेछ । लघु उद्यमीहरुको सीप तथा प्रविधिको स्तरीकरणका कार्यक्रम सञ्चालन गर्ने नीति छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी