नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले नगरभित्र ३ करोड रुपैयाँ बढीका योजना थप गरेको छ । नगरपालिकाको दसौँ नगरसभाका क्रममा सो रकम बराबरका नगरस्तरीय योजना थप गरिएको हो ।

नगर उपप्रमुख ओमकुमारी महतोका अनुसार समपुरक बजेटबाट थप भएका योजनामा गिरुबारी खोला र अरुणखोला तटबन्धका लागि १÷१ करोड रुपैयाँ विनियोजन भएको छ । गत कात्तिक पहिलो साता गिरुबारी र अरुणखोलामा आएको बाढीले धेरै क्षति गरेको थियो ।    नगरसभाले अनुमानित राजस्व तथा अनुदान प्राप्तिसमेत संशोधन गरेको छ । यसअघिको नगरसभामा अनुमानित आय १ अर्ब २ करोड ३५ लाख रहेकामा बिहीबार सम्पन्न नगरसभाले उक्त रकम संशोधन गरी १ अर्ब ५ करोड ४२ लाख रुपैयाँ पारित गरेको छ ।

चालू आर्थिक वर्ष ०७८/७९ को बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गर्दै १५ पुस ०७८ सम्म चालूतर्फ २४.१३ प्रतिशत र पुँजीगततर्फ ५.५४ प्रतिशत रकम खर्च भएको उपप्रमुख महतोले जानकारी दिइन् । यस अवधिमा चालूतर्फ १३ करोड १३ लाख ७६ हजार तथा पुँजीगततर्फ २  करोड ६६ लाख रुपैयाँ खर्च भएको उनले बताइन् । नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले सबै वडामा स्वास्थ्य संस्थाको स्थापना, सडक पूर्वाधार निर्माण, खानेपानी आयोजना, नगरको सुविधासम्पन्न आफ्नै भवन, विभिन्न ठूला योजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारलगायत काम भएको जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी