मकवानपुर थाहानगरको कुन्छाल–कुलेखानी सडक निर्माण अनुगमन समितिले सडक स्तरोन्नती कार्यको विवरण माग गरेको छ । थाहा नगरपालिका वडा नम्बर १ र ६ क्षेत्रमा पर्ने उक्त सडकको कार्य विवरण उपलब्ध गराउन स्थानीय राजनीतिक दल र सरोकारवालाहरुलाई कार्यविवरण जानकारी गराउन आग्रह गर्दै थाहा नगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेको हो ।

थाहा नगरपालिकाको कार्यालयमा कुन्छाल–कुलेखानी सडक निर्माण अनुगमन समितिका सदस्यहरुले नगर प्रमुख बिष्णु बहादुर बिष्टलाई वहाँकै कार्यकक्षमा भेट्दै निर्माण कम्पनीसंग प्राविधिक डिजाइन र स्टमेट समेत उपलब्ध गराउन सहजीकरणको लागि अनुरोध गरेको अनुगमन समितिका संयोजक ईन्द्र बहादुर श्रेष्ठले बताए । निर्माण कार्य भैरहेको क्षेत्रमा नगरपालिकाबाट प्राविधिक कर्मचारी समेत उपलब्ध गराई कामको गुणस्तर अनुगमन गर्न नगरलाई अनुरोध गरिएको श्रेष्ठले बताए ।

भेटमा नगर प्रमुख बिष्टले निर्माण कार्यको नगरपालिकाले आफ्नो तरिकाले अनुगमन गरिरहेको बताउदै स्टमेट अनुसार कार्य गराउन थाहा नगरपालिकाले सघन सहरी विकास कार्यालयसंग समन्वय गरिरहेको बताउदै स्थानीय स्तरको अनुगमनले पनि गुणस्तरीय काम गरे नगरेको हेर्न आग्रह गरेको अनुगमन समितिका सदस्य सानुकाजी गोपालीले बताए । संयोजक श्रेष्ठसहित सानुकाजी गोपाली, महेश्वर सुवेदी, श्यामकृष्ण जोशी, योगेन्द्रमान श्रेष्ठ, मनहरी भट्ट, प्रमोद गोपालीको उपस्थित रहेको थियो। समितिले थोप्ले डाँडादेखि बासको झ्याङसम्म १० मिटर, बासको झ्याङदेखि दुप्चे बजार पुलसम्म १४ मिटर र दुप्चे पुलदेखी बाँकी भाग १० मिटर सडक स्तरोन्नति गर्ने जनाएको छ ।

पालिका प्रेस
थप जानकारी