बाजुराको बूढीगंगा नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन १७ मंसिरमा सरुवा भएर गएपछि नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार पूर्ण रूपमा बन्द भएको छ । विकास निर्माणलगायत अन्य योजनाको कामसमेत प्रभावित भएको नगरपालिकाले जनाएको छ । शिक्षकले ४ महिनादेखि तलब खान पाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले समेत तलब खान पाएका छैनन् । नगरपालिकाको काम लथालिंग भएको स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए ।

यसअघि पनि विभिन्न समय नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । नगरपालिकामा कार्यरत कर्मचारीलाई कार्यपालिकाले सिफारिस नगर्ने र केन्द्रबाट पनि जिल्ला आउन नमान्ने भएकाले सधैँ प्रमुख प्रशासकीय अधिकृत नहुने गरेको एक कर्मचारीले बताए । नगरपालिकामा कार्यरत केही कर्मचारीले आर्थिक अधिकारसहितको प्रशासकीय अधिकृतका लागि पहल गरे पनि कार्यपालिकाले निर्णय दिएको छैन । कर्मचारीले राजनीति गर्ने, एकअर्कोलाई नस्वीकार्ने भएकाले निर्णय गर्न नसकिएको एक कार्यपालिका सदस्यले जानकारी दिए । नगरप्रमुख दीपकविक्रम शाहले प्रमुख प्रशाकीय अधिकृत पठाइदिन मन्त्रालयमा पहल भइरहेको बताए । बूढीगंगा नगरपालिकामा धेरै समय प्रमुख प्रशासकीय अधिकृत नबस्नुको कारण व्यवस्थापन फितलो भएको देखिएको स्वास्थ्य संयोजक दीपक शाहको भनाइ ।

एमाले पूर्वमन्त्री कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश प्रमुख तथा संविधानसभा सदस्य देवराज जोशी, संघीय सांसद लालबहादुर थापा, प्रदेश सांसद तथा पूर्वमन्त्री प्रकाश शाहको गृहनगर बूढीगंगा नगरपालिका भए पनि सधैँ प्रमुख प्रशासकीय अधिकृतविहीन हुनु परिरहेको छ ।

पालिका प्रेस
थप जानकारी