बागमती प्रदेशका मकवानपुरसहित १० जिल्लामा गत आर्थिक वर्ष २०८०÷८१ को एक वर्ष अवघिमा झण्डै एक हजार जानाले आत्महत्या गरेका छन् । विगत दुई वर्षको तथ्यांक हेर्दा गत आवमा आत्महत्या गर्ने बढे । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाअनुसार उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा आर्थिक वर्ष (आव) ०८०÷०८१ मा ९ सय ७७ जनाले आत्महत्या गरेका हुन् । अघिल्लो वर्ष ९ सय ४० जनाले आत्महत्या गरेका थिए । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् । दुवै वर्ष वैशाखदेखि असार÷साउनमा आत्महत्याका घटना बढी भएको प्रहरीको अनुसन्धानले देखाएको छ । मकवानपुरमा आव ०८०÷८१ मा १ सय ४४ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

आव ०७८÷०७९ मा मकवानपुरमा १ सय २५ जना र आव ०७९÷०८० मा ५७ महिलासहित १ सय ५२ जनाले आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार मकवानपुरमा महिनामै ११/१२ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको घटना मकवानपुरमा मात्र बढेको होइन, सिंगो बागमती प्रदेशमा बढेको देखिन्छ । हेटौंडा अस्पतालका डा. कमल दवाडीका अनुसार अधिकांश आत्महत्या डिप्रेसनका कारणले हुने गरेको छ । वृद्धवृद्धा, अधवैंशे उमेरका मात्र होइन, १२ वर्षकी एक बालिकाले पनि घरमा झुण्डिएर आत्महत्या गरेको तथ्यांक छ ।

आत्महत्याको कारणमा डिप्रेशन, आर्थिक कारोबार, घरायसी झैझगडालगायत छन् । युवा वर्गमा हुने गरेका आत्महत्याको घटनाको कारक भने लागूऔषध दुव्र्यशनी, प्रेम सम्बन्धलगायत छन् । चितवनमा आव ०७८÷०७९ मा २ सय १४ जनाले आत्महत्या गरेका थिए भने आव ०७९÷०८० मा २ सय २४ र गत आवमा २ सय ३१ जनाले आत्महत्या गरेका छन् । प्रदेशअन्तर्गत रहेका १० जिल्लामा तीन वर्षमा सबैभन्दा बढी आत्महत्या गर्नेको संख्या चितवनमा देखिएको छ । धादिङमा अघिल्लो आवमा १ सय ४२ जनाले आत्महत्या गरेका थिए भने गत आवमा १ सय ९ जनाले आत्महत्या गरेको वाग्मती प्रदेश प्रहरी कार्याल ेटौंडाले जनाएको छ । बागमतीमा सबैभन्दा कम आत्महत्या गर्नेमा रसुवा रहेको छ । यहाँ आव ०७८÷०७९ मा ५ जनाले, ०७९÷०८० मा ४ जनाले आत्महत्या गरेका थिए भने ०८०÷०८१ मा ८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरिक्षक रवि पौडेलले जानकारी दिए ।

सहनशीलता एवं धैर्यको कमी, आत्महत्यालाई निरुत्साहित गर्न सरकारी स्तरबाट कुनै प्रयास नहुनुजस्ता कारणले आत्महत्याका घटना बर्सेनि बढ्दो क्रममा रहेको चिकित्सकहरुको भनाई छ । आत्महत्या रोक्ने कुनै सरकारी गृहकार्य एवं चेतनामूलक कार्यक्रम सञ्चालन नहुँदा पनि यस्ता घटनामा वृद्धि भएको उनीहरुको दाबी छ ।

पालिका प्रेस
थप जानकारी