हेटौंडा उपमहानगरपालिकाले व्यवसाय कर वृद्धिको विरोधमा निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका महासचिब राजेन्द्रप्रसाद चौलागाईंको नेतृत्वमा आइतबार व्यवसायीको समूहले ज्ञापन पत्र बुझाएको हो । उनीहरुले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई ज्ञापनपत्र बुझाएका छन् ।
निर्माण व्यवसायी चरम मारमा परेको अवस्थामा व्यवसाय कर बढाउँदा निर्माण व्यवसायीले व्यवसाय नवीकरण नै गर्न नसक्ने अवस्था सिर्जना भएको संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ । बजारको माग र आपूर्ति सन्तुलन पुरै बिग्रिएको अवस्थामा व्यवसाय तथा बजार उकास्ने नीति लिनुपर्ने नगरपालिका जस्तो अभिभावक संस्थाले कर बढाउनु गैरजिम्मेवारीपन भएको संघले जनाएको छ ।
व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले नगरपरिषद्को निर्णयबाट बढाइएको करको दर सच्याउन नसकिने बताए । आगामी पुसमा हुने नगरसभामा सुधार गर्न सकिने र त्यसअघि नगर कार्यपालिकाले व्यवसाय नवीकरणको म्याद थप्न सक्ने उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गको निर्माण व्यवसायीको नवीकरण शूल्क क्रमशः सात हजार पाँच सय, पाँच हजार, चार हजार र तीन हजार रुपैयाँ कायम गरेको थियो भने चालु आर्थिक वर्षका लागि १० हजार, आठ हजार, सात हजार र पाँच हजार रुपैयाँ कायम गरेको छ । हेटौंडा उपमहानगरपालिकामा करिब चार सय निर्माण व्यवसायी रहेको संघले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाले प्रतिस्पर्धामा निर्माण कार्य नगरी उपभोक्ता समितिमार्फत काम गर्ने गरेको भन्दै संघले ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्