मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्यणण माविले अहिलेसम्मकै पदकको रेकर्ड तोड्दै थाहानगर राष्ट्रपति रनिङ शिल्ड, २०८१ को उपाधि चुमेको छ । जनकल्याणले थाहानगर राष्ट्रपति रनिङ शिल्ड, २०८१ मा २८ स्वर्ण पदकसहित ८ रजत र १० काश्य पदक पाएको छ । जनकल्याणले राष्ट्रपति रनिङ शिल्ड, २०८० को प्रतियोगितामा १७ र २०७९ को प्रतियोगितामा १५ स्वर्ण सहित उपाधि जितको थियो । गत ६ वर्षको साविक विजेता समेत रहेको जनकल्याण माविले सातौ पटक अत्याधिक पदकसहित जित आफ्नो पोल्टामा पारेको हो ।

प्रतियोगितामा ८ स्वर्ण ५ रजत १ काश्यसहित स्वच्छन्द भैरव मावि थाहा–९ चित्लाङ दोस्रो भएको छ । २ स्वर्ण ७ रजत र ९ काश्य पदकसहित सुनौला मावि थाहा–१ तेस्रो भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम भएसंगै जनकल्याण माविले नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय भएको स्वच्छन्द भैरव माविले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतीय भएको सुनौला माविले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तीन वर्षको नतिजा हेर्दा जनकल्याणको उपाधिमा कुनै पनि विद्यालयहरु प्रतिस्पर्धामा छैनन् । २०७९ को उत्कृष्ट ३ मा समावेश भई दोस्रो स्थान हासिल गरेको सुनौला मावि २०८१ मा उत्कृष्ट ३ बाट बाहिरिएको छ भने २०८१ मा तेस्रो स्थानसहित कमब्याक भएको छ । २०७९ मा तेस्रो भएको बज्रवाराही मावि २०८० र २०८१ मा उत्कृष्ट ३ भित्र पर्न सकेन । २०८० को दोस्रो भएको बागेश्वरी मावि थाहा–११ र तेस्रो भएको झम्केश्वरी मावि थाहा–१ पनि २०८१ को प्रतियोगितामा उत्कृष्ट ३ बाट बाहिरिएका छन् ।

त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी संचालन भएको मेयरकप भलिबल प्रतियोगिताको छात्रतर्फ स्वच्छन्द भैरव मावि थाहा–९ चित्लाङ प्रथम र द्वितीय मत्स्यनारायण मावि भएको छ । छात्रातर्फ प्रथम मत्स्यनाराण मावि प्रथम र नाटेश्वर मावि थाहा–१० टौखेल द्वितीय भएको छ । दुवै तर्फका प्रथम हुनेले १५/१५ हजार नगद र द्वितीय हुनेले १०/१० हजार नगद, शिल्ड तथा प्रमाणपत्र पुरस्कार पाएका छन् ।

कार्यक्रमका विजयी विद्यालय तथा विद्यार्थी खेलाडीहरुलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपाली र अतिथीहरुले वितरण गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका नगर उपसभापति नवराज कार्की, नेकपा (माओवादी केन्द्र) का थाहानगर अध्यक्ष बिनोद लामा, नेकपा (एकीकृत समाजवादी) थाहानगर अध्यक्ष सुरेन्द्र थापा, राप्रपाका कुलमान तामाङलगायत राजनीतिक दलका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । सो अवसरमा थाहा नगरपालिका अन्तर्गतका वडाध्यक्षहरु, विभिन्न विषयगत समितिका पदाअधिकारीहरु, स्थानीय संघसंस्थाका प्रतिनीधिहरु, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनीधिहरु, खेलकुदका निर्णायकहरुलगायतकाको उपस्थिती थियो ।

पुरस्कार वितरण तथा समापन कार्यक्रम थाहानगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको थियो ।

२९ कार्तिकबाट ३ दिनसम्म थाहानगरको इन्द्रायणी चौरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो ।

पालिका प्रेस
थप जानकारी