मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसिज वर्ष २०२५ को अध्यक्ष पदका लागि तीनजनाले उमेद्वारी दर्ता गराएका छन् । निर्वाचन आयुक्त संगम कार्कीका अनुसार– माधव कार्की, संजय गोपाली र विक्रम गोपालीले उमेद्वारी दर्ता गराएका हुन् । उमेद्वारी दर्ता गर्न तोकिएको २३ मंसिर मध्यान्ह १२ बजेभित्र उनीहरुले नाम दर्ता गराएका हुन् ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा चार जनाले उमेद्वारी दर्ता गराएका छन् । निर्वाचन आयुक्त कार्कीका अनुसार अजित कार्की, स्मिता विष्ट, विराज थापा र अजय कार्कीले उमेद्वारी दर्ता गराएका हुन् । जेसिज विधान अनुसार कार्यकारिणी उपाध्यक्ष २ जना आवश्यक छ ।
त्यसैगरी ४ उपाध्यक्ष पदका लागि एक जनाको मात्र उमेद्वारी दर्ता भएको छ । सो पदमा विश्वनाथ रायमाझीको मात्र उमेद्वारी परेको हो । आवश्यक पदमा तोकिएको संख्यामा समेत उमेद्वारी नपरेपछि ठोस निर्णय गर्नका लागि २४ मंसिरमा बोर्ड बैठक बस्ने वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।
अध्यक्ष पदमा उमेद्वारी दर्ता गराएका माधव कार्की सन् २०१५ बाट पालुङ जेसिजमा आवद्ध भएका हुन् । उनी जेसिजमा आवद्ध भएसंगै २०२० मा भरतरत्न छात्रवृत्ति कार्यक्रम संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २०२३ मा कोषाध्यक्ष भइसकेकाका छन् । कार्कीले यस अघि २०२४ को अध्यक्षका लागि पनि उमेद्वारी दर्ता गराएका थिए । उनी हालका अध्यक्ष निरज रायमाझीसंग ४२ मतले पराजित भएका थिए । सो निर्वाचनमा रायमाझीले ६५ मत प्राप्त गर्दा कार्कीले २३ मत पाएका थिए ।
पालुङ जेसिजको अध्यक्षकै अर्का उमेद्वार संजय गोपालीे सन् २०१७ मा पालुङ जेसिजको सदस्य भएका हुन् । उनी २०१८ मा महाधिवेशन प्रतिनीधि, २०१९ मा सदस्य, २०२० मा ओमकर हाजिरी जवाफ प्रतियोगिता, जन्मदिन कार्यक्रम संयोजक तथा जेसीज इन स्कूल संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा कार्यकारिणी उपाध्यक्ष, २०२३ मा महासचिव र २०२४ मा कोषाध्यक्ष भैसकेका छन् । गोपाली २०२४ मै प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भई उत्कृष्ट टिमका रुपमा सम्मानित समेत भएका छन् ।
सन् २०२५ कै अध्यक्ष पदका उमेद्वार विक्रम गोपाली हाल २०२४ का महासचिव हुन् । उनी सन् २०१६ मा पालुङ जेसिजमा आवद्ध भएका हुन् । आवद्धतायता गोपाली सन् २०१७ मा खानेपानी संयोजक, २०१८ मा सदस्य, २०१९ मा सहकोषाध्यक्ष, २०२० मा उपाध्यक्ष, २०२१ कार्यकारिणी उपाध्यक्ष, २०२२ मा कोषाध्यक्ष, २०२३ मा जनसम्पर्क अधिकारी भैसकेका छन्
सन् २००० मा स्थापना भएको पालुङ जेसिजमा कुल १ सय १२ जनाले मतदान गर्ने मतदाताको अन्तिम नामावलीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्