सर्लाहीका २० मध्ये ११ स्थानीय तहको आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सर्लाहीको मलंगवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा दिइरहेका छन् ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव छ । जिल्लाका २० स्थानीय तहमध्ये केहीले आफ्नै भवन बनाउन थाले पनि केहीको भौतिक संरचना बनाउन जग्गा अभाव, भवन निर्माणको विवादलगायतका कारण भाडाका संरचनाबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिको गुनासो छ । जिल्लाका केही स्थानीय निकायले आफ्नै भवन निर्माण गरी सेवा सुरु गरिसकेका छन् भने केही स्थानीय निकायका भवन निर्माणाधीन अवस्थामा छन् । केही स्थानीय निकाय साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् । ईश्वरपुर, हरिपुर, हरिवन, बरहथवा र बागमती नगरपालिका तथा धनकौल, ब्रह्मपुरी, कौडेना र पर्सा गाउँपालिकाले नयाँ भवन निर्माण गरेर तथा साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

स्थानीय निकायका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको चक्तघट्टा गाउँपालिका अध्यक्ष विक्रम राय यादवले बताए । जग्गा विवादका कारण निर्माणाधीन भवनको काम रोकिएको उनको भनाइ छ । भौतिक संरचना अभावका कारण गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको मलंगवा नगरपालिका प्रमुख निरसल साहले बताए । लालबन्दीका नगरप्रमुख मानबहादुर खड्काका अनुसार जिल्लाका केही स्थानीय निकायले पहिलाका गाविसका भवनमा कार्यालय राखेर सेवा प्रवाह गरिरहेका छन् । पहिला गाविस हुँदा निर्माण भएका भवन पनि पुराना तथा साना भएका छन् । सोही कारण सेवा प्रवाहमा निकै समस्या भएको जनप्रतिनिधि बताउँछन् ।

स्थानीय निकायका आफ्नै भवन नहुँदा भाडामा सञ्चालन गरिएका कार्यालयका लागि स्थानीय निकायले बर्सेनि लाखौँ रकम भाडामै खर्च गर्नु परेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी