
मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पर्वको अवसरमा माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मञ्जुश्री संवत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताए । सोनाम ल्होसारको उपलक्ष्यमा गाउँपालिका अध्यक्ष मल्लले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरेका छन् । साथै तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्था बन्द रहने उनले बताए । उनले पालिकामा तामाङ बाहुल्य रहेकोले पर्व खुशियालीपूवर्क मनाउने तीन दिन बिदा दिएको बताए ।
उनले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा सहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ् बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्