
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशलाई खेलकुदको हब बनाउनुपर्ने बताएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ द्वारा आयोजित वडा कप फुटबल, पालिकास्तरीय महिला भलिबल, पुरुष भलिबल प्रतियोगिताको विजेता टिमलाई २० माघमा पुरस्कार प्रदान गर्दै मन्त्री महर्जनले बागमती प्रदेशलाई खेलकुदमय बनाउन आफूले काम गरिरहेको बताए । उनले बागमती प्रदेश खेलकुदको हब बनाउँदा खेलाडी र राज्यको आर्थिक अवस्थामा सुधार आउनेसमेत बताए ।
मुलुकमा संघीयता कार्यान्वयन भएपछि स्थानीय सरकार र प्रदेश सरकार अधिकार सम्पन्न भएपछि बागमती प्रदेशभित्रका जिल्लाहरूमा सबैभन्दा धेरै खेलकुद प्रतियोगिता र गतिविधि भइरहेको मन्त्री महर्जनले बताएका छन् । बागमती प्रदेशभित्र भौतिक पूर्वाधार निकै कम रहेको भन्दै उनले अब आउने बजेटमा खेलकुदको क्षेत्रमा भौतिक पूर्वाधारलाई प्राथमिकता राखेर काम गर्ने बताए । मन्त्री महर्जनले खेलाडीहरूको जीविकोपार्जको निम्ति प्रतिबद्ध भएर आफूले काम गरिरहेको पनि बताए। बागमती प्रदेशभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको अभिलेख राखेर सम्मान गर्दै जाने उनको भनाई छ ।
प्रतियोगितामा महिला भलिबल, पुरुष भलिबल, भेट्रान्स फुटबल महिला डोरी तान्ने खेल र फुलकन्ट्याक्ट कराते सम्पन्न भएको छ । कार्यक्रममा विजेता खेलाडीहरुलाई मन्त्री महर्जनले पुरस्कार प्रदान गरे । महिला भलिबल प्रथम हुने मार्खु टिमलाई नगद ४० हजारसहित मेडल ट्रफी प्रदान गरिएको छ । पुरुष प्रथम हुने नवलालिमाटिमलाई ४० हजारसहित मेडल ट्रफी हस्तान्तरण गरिएको हो । भेट्रान्स फुटबलमा प्रथम हुने नवलालिमा युवा क्लबलाई ४० हजार नगद पुरुस्कारसहित मेडल ट्रफी प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्