मकवानपुरको भीमफेदी गाउँपालिकामा १३ जेठमा गाउँसभामा कानुन तर्जुमा सम्बन्धी अभिमुखीकरण भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्धारा स्थानीय तहमा कानुन निर्माण प्रक्रियालाई विधिसम्मत, समावेशी र प्रभावकारी बनाउने उद्देश्यसहित अभिमुखीकरण भएको हो ।

भीमफेदी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा कानुन मन्त्रालयकी सहसचिव उर्मिला जिसीले संघीय संरचनाअनुसार स्थानीय तहले पाएको अधिकार प्रयोग गर्न कानुनी संयन्त्र सुदृढ हुनुपर्नेमा जोड दिए । उनले कानुनी ज्ञान र अभ्यास स्थानीय तहलाई सक्षम बनाउने आधार भएको भन्दै जनप्रतिनिधिहरूलाई क्षमता अभिवृद्धि गराउन सक्नु संघीयताको सकारात्मक पहल भएको बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामाले स्थानीय तहलाई संविधानले दिएको अधिकारको प्रयोग प्रभावकारी बनाउन यस्तो कार्यक्रम उपयोगी भएको बताए । कानुन तर्जुमा प्रक्रियाबारे व्यावहारिक ज्ञान पाउनु स्थानीय तहकालागि अत्यन्त उपयोगी रहेको उनको भनाई थियो । कार्यक्रममा कानुन निर्माण प्रक्रिया, विधेयक तर्जुमा तथा छलफल विधि, मौलिक हकसँग सम्बन्धित ऐन निर्माण र स्थानीय तहको अधिकारको कार्यान्वयन सम्बन्धी विषयमा प्राविधिक प्रस्तुति र अभ्यास गरिएको थियो ।

कार्यक्रममा भीमफेदी गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, वडा अध्यक्षहरू, कर्मचारीलगायत सरोकारवालाहरुको सहभागिता थियो । अभिमुखीकरणमा सहभागी प्रतिनिधिहरूले यस्ता कार्यक्रमले कानुनी समझदारी बढाउनुका साथै नीति निर्माणमा सहभागिता जनाउने क्षमतालाई बल पुग्ने धारणा राखेका थिए ।

पालिका प्रेस
थप जानकारी