पर्साको वीरगञ्ज महानगरले नगर क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा दिन थालेको छ । नगरका बासिन्दालाई घरमै सहज स्वास्थ्य सेवा पुर्‍याउने  उद्देश्यले महानगरले ‘मेयर घरदैलो स्वास्थ्य सेवा’ थालेको हो ।

कोरोना महामारीको समय अस्पतालसम्म आउन समस्या खेपिरहेका गर्भवती, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरिएको वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले बताए ।

महानगरले पहिलो चरणमा १ देखि १६ नम्बर वडासम्म यो सेवा सञ्चालन गरेको हो । ‘स्वास्थ्यकर्मीले ती वडाका लक्षित सेवाग्राहीलाई घरमै पुगेर सेवा दिइरहेका छन् । यो स्वास्थ्य सेवाबाट नगरका बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ,’ प्रमुख सरावगीले भने ।

महानगरबाट खटिएका स्वास्थ्यकर्मीले स्थानीयको घरमै पुगेर स्वास्थ्य परीक्षण, निःशुल्क औषधी र परामर्श सेवा दिन थालेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ । यसका लागि महानगरले १७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

 

पालिका प्रेस
थप जानकारी