प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागि प्रक्रिया अघि बढ्ने बताएका छन् । मकवानपुर–२ का प्रतिनीधि सभा सदस्य महेश कुमार बर्तौलाले थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि गरेको अनुरोध पत्र बुझ्नै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
११ भाद्र साँझ प्रधानमन्त्रीलाई सांसद बर्तौलाले अनुरोध पत्र बुझाएका हुन् । ‘प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको छ’ सांसद बर्तौलाले भने–‘प्रधानमन्त्री ज्युलाई भेटेर थाहानगरमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको छु । सम्माननीय प्रधानमन्त्रीज्युले माननिय अर्थमन्त्री र गृहमन्त्रीलाई थाहानगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रकृया अगाडी बढाउन भनिदिनुभएको छ ।’ प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गर्दै एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले भने–‘आशा गरौ अब थाहानगरमा इलाका प्रशासन कार्यालय स्थापना हुने गरी प्रकृया अगाडी बढ्नेछ ।’
सांसद बर्तौलाले बुझाएको अनुरोध पत्रमा मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका लगायत आसपासका अन्य पालिकाहरू भिमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र इन्द्रसरोबर गाउँपालिकाका केहि वडाहरूका वासिन्दाहरूले प्रशासनिक सेवाहरू प्राप्त गर्न थाहानगरमा स्थापना हुने इलाका प्रशासन कार्यालयले सहयोग पुग्ने उल्लेख छ । उनले नेपाल सरकारले भर्खरै मात्र देशका विभिन्न जिल्लाहरूका २३ स्थानमा सरकारी प्रशासनिक सेवाहरू सहज तथा छिटो छरितो ढंगले प्रवाह गर्ने उद्देश्यका साथ इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने प्रकृया अगाडि बढाएकोमा आभार व्यक्त गरेका छन् ।
बर्तौलाले मकवानपुरको उत्तरी क्षेत्र समेत हजारौं जनताले प्रशासनिक सेवा सुविधा लिनका लागि आजसम्म पाइरहेको कष्ट असुविधाहरू अन्त्य गर्दै सहज र सुलभ तरिकाले प्रशासनिक सेवा सुविधा उपलब्ध गराउनको लागि थाहानगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय हुनेगरी प्रकृया अगाडि बढाईदिन प्रधानमन्त्री समक्ष अनुरोध गरेका हुन् । इलाका सेवा केन्द्र स्थापना भएमा जिल्लाको उत्तरी क्षेत्रका स्थानीय जनताहरूले प्रशासनिक सेवा सुविधाहरू प्राप्त गर्न लामो समयदेखि भोग्दै आएका कष्ट र असुविधाहरू सधैका लागि अन्त्य हुने पत्रमा उल्लेख गरिएको छ ।
यस अघि थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न ११ भाद्रमै नेकपा एमाले थाहानगर कमिटिले मकवानपुर–२ का प्रतिनीधिसभा सदस्य सांसद महेश कुमार बर्तौलालाई ज्ञापनपत्र बुझाएको थियो ।
यो पनि पढ्नुहोस्























































प्रतिक्रिया दिनुहोस्