थाहा–१० स्थित विसिङखेलको चम्पाकेश्वर मन्दिरमा लागेको मेला । फोटोः विशाल रायमाझी/पालिका प्रेस

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० बिसिङ्खेलमा १ कार्तिकमा भव्य रुपमा चम्पाकेश्वर महादेवको जात्रा मनाइएको छ । हरेक वर्ष कात्तिक १ गते हुने उक्त जात्रालाई स्थानीयहरु ‘अम्बे’ जात्रा भनेर पनि चिन्दछन् । चित्लाङका प्रमुख चार गाँउका ऐतिहासिक गोपाली जातीले दशैंभन्दा प्राथमिकता दिएर मनाउने प्रचलन रहेको चम्पाकेश्वर महादेवको जात्रा सम्पन्न गरेका छन् ।

चित्लाङको न्हुँलगाँउ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले परम्परागत विधिपूर्वक अम्बे जात्रा मनाउने परम्परा रहेको छ । धार्मिक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बाहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरीएको छ ।

मन्दिर जजिकै पूर्वतर्फ नियमित बग्ने खोला छ । त्यही खोलाबाट १ सय ८ घैला पानी ल्याएर महादेवको मुकुट नुहाएपछि मात्र पुजा आरम्भ हुन्छ । महादेव नुहाइ नसकुन्जेल भक्तजनहरु पर्खेर बस्छन् । मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय खलकका पुजारी छन् । यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने गरेको बताइन्छ ।

प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि चम्पाकेश्वर महादेवलाई संकल्प गरेर जाँड र एक पटक मात्र कुटेको चिउरा तयार गरिन्छ । यसलाई स्थानीय बासिन्दा ‘कक बजी’ भनिन्छ । जाँड कार्तिक १ गतेभन्दा आठदिन अघि राखिन्छ । जाँड र चिउरा टौखेलबाट नोल लगाएर मन्दिर परिसर पु¥याउने चलन छ । बाजागाजा र नाचगानसहित मन्दिर परिसर पु¥याइएको जाँड र ‘कक बजी’ मन्दिर छेवैको चम्पाकेश्वर प्राविको चौरमा पुगेर बिसाउन चलन छ । त्यतिबेला गाउँका सबै त्यही पुग्छन् र चम्पाकेश्वरलाई संकल्प गरेर लगिएको जाँड र चिउरा छर्केर चढाइसकेपछि त्यसैलाई सबैले प्रसादको रुपमा खाने गर्दछन् ।

थाहा–१० स्थित विसिङखेलको चम्पाकेश्वर मन्दिरमा लागेको मेला । फोटोः विशाल रायमाझी/पालिका प्रेस

‘पहिले पहिले गुठीयारहरु चौरमै बसेर प्रसाद खाने चलन थियो’–स्थानीय अक्षय गोपालीले भने–‘अहिले सबैजना प्रसाद ग्रहणका लागि मन्दिर परिसर पुगेनन् भने टोलका ज्येष्ठ सदस्य मार्फत घरैमा पठाइन्छ ।’ १ कार्तिकको मेला अर्थात पुजाको लागि स्थानीयहरु एक साताबाटै घरमा चोखोनिधो गर्ने परम्परा छ । उनीहरु पुजाका लागि आठ दिन अघि जाँड राखेपछि मासु खानेको त कुरै छाडौं छुँदैछुँदैनन् । तर माछा भने भान्छामा चलाउँछन् ।

१ कार्तिकको चम्पाकेश्वर मेलामा परम्परागत नाचहरु प्रदर्शन गरिन्छ । मन्दिर परिसरको खटमा नेवारी बाजाकै तालमा नाचगान हुन्छ । काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फुल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानीय भाषामा ‘ट्वाक प्याखँ’ भनिन्छ । दिनभरीको पुजा सकिएपछि पनि मन्दिर नजिकैको गाउँ टौखेलमा रातभरी पुजाआजासहित देउता नचाउने चलन छ । २ कार्तिक विहान सबै पुजा सकेर एक वर्षका लागि देउता थन्क्याउने चलन रहेको स्थानीय बिराजन बस्नेतले जानकारी दिए । चम्पाकेश्वर मन्दिरमा वर्षको २ पटक मात्र चारवटै ढोका खुलाउने पुरानो चलन रहेको बस्नेतको भनाइ छ । उनले भने–‘शिवरात्री र कार्तिक १ गते मात्र मन्दिरको सबै ढोका खुल्छ नत्र अरु बेलामा पश्चिम ढोका मात्र खुल्छ ।’

यसवर्षको १ कार्तिकको चम्पाकेश्वर जात्रामा स्थानीयहरु भाकल पुजा, नियमित पुजा तथा लाख बत्ती बाल्न समेत भक्तजनहरु पुगेका थिए । प्रमुखतः थाहा नगरपालिकासहित मकवानपुर, धादिङ र काठमाण्डौं उपत्यकाबाट पुजापाठका लागि भक्तजनहरु मन्दिर पुगेका थिए ।

यस्तो छ, मन्दिरको संक्षिप्त किम्बदन्ती

चम्पाकेश्वर महादेवको उत्पत्ती चाँपको रूखवाट भएको धार्मिक विश्वस गरिन्छ । द्वापरयुगका शोणितपुर (हालको थानकोट) का राजा वाणासुर महादेवका भक्त थिए । उनले नित्य महादेवको पुजामा चाँपका फुलहरु चढाएर गर्थे । वाणासुर हेमामालिनी नाम गरेका मालिलाई नित्यपुजाको लागि फुल टिप्न लगाउथे । हेमामालिनी दैनिक आएर हाल मन्दिर रहेको स्थानको चाँपघारिबाट चापका फुल टिपेर लैजाने गर्थिन् ।

हाल मन्दिर रहेको स्थानमा चापको रूख थियो र एक दिन चाँप कोरुखमा चढेर फुल टिपेर आफ्नो झोलीमा राखेर चढेको रुखको फेदमा आएर हेर्दा झोली खाली भएपछि हेमामालिनि फेरी रुखमा चढेर फुल टिपेर झरीन् फेरी पनि रुखको फेदमा आईपुग्दा झोली खाली भैहाल्यो । यो क्रम पटक पटक दोहोरिएपछि हेमामालिनीले आफ्नो महाराज वाणासुरलाई सबै बताईन । हेमामालिनीको कुरा सुनेपछि वाणासुर रिसले आएर त्यो चापको रूखलाई उखल्न खोज्दा श्रीमहादेवको ज्योतिर्लिङ्ग प्रकट भएर वाणासुरलाई दर्शन दिनुभएकोले चापको रुखबाट प्रकट भएकोले चम्पाकेश्वर नाम रहन गएको धार्मिक विश्वास गरिन्छ । यस सम्बन्धमा हिमवत खण्डको नेपाल महात्म्यमा उल्लेख गरेको पाईन्छ ।

थाहा–१० स्थित विसिङखेलको चम्पाकेश्वर मन्दिर । फोटोः विशाल रायमाझी/पालिका प्रेस

यो ज्योतिर्लिङ्ग पशुपति नाथको चौसाठ्ठी ज्योतिर्लिङ्ग मध्येको एक हो । समयको अन्तरालसँगै द्वापरयुगको अन्य भयो । त्यस पश्चात कली युग शुरु भयो । कलपयुगको सुरुसम्म पनि हाल मन्दिर रहेको स्थानमा चापघारी रहेको र नेपालको वस्ति विकाससँगै काठमाण्डौ उपत्यकामा गोपाल वंशको राज्य चल्न थाल्यो । गोपाल वंशलाई राज्यच्यूत गर्दै शासकलाई काठमाण्डौ उपत्यकाबाट लेखटेपछि ग्वाला (गोपाली)हरु लुक्नको लागि यस ठाउँमा आएर बसे । यहि क्रमसँग हाल थाहा १० रहेको टौखेल, विसिंखेल न्हुँलगाउँ कलाटु, अपुण्डोल क्षेत्रको वस्ति विकास लिच्छिविकालमा भएको देखिन्छ ।

कृषि पेसा गरेर आफ्नो जीविकोपार्जन गर्न थालेको प्रामणहरु देखिन्छ । यसक्रममा कलाटु एक कृषकको घरमा पालेको दुध दिने गाई चराउन लैजाँदा सधै भागेर अहिले मन्दिर रहेको स्थानमा रहेको चापको रूखमा गएर दुध चडाउने गरेको गोठालहरुले देखेसँगै स्थानीय समुदायले हेर्दा चापको रुखमा शिवलिङ्ग देखिएपछि मन्दिर बनाएर पुजा गर्न थालिएको प्रमाणहरू देखिन्छ । पुरानो मन्दिरमा प्रयोग भएका ईटाहरु लिच्छवीकालिन भेटिए पनि वि.सं. १९५९ मा यस क्षेत्रमा आएको ठूलो बाढी पहिरोका कारण उक्त मन्दिमा क्षति पुगेको हो । स्थानीयले पछि मन्दिरलाई मर्मत गरेर सिरु (एक किसिमको खर घाँस) र कुसले छाएर पुजा गर्न थालिएको ज्येष्ठ नागरिकहरु बताउँछन् ।

थाहा–१० स्थित विसिङखेलको चम्पाकेश्वर मन्दिरमा लागेको मेला । फोटोः विशाल रायमाझी/पालिका प्रेस

वि.सं. २०६१ सालमा मन्दिरको पुनर्निर्माण कार्य सुरु गरिएको चम्पाकेश्वर मन्दिर अहिले परम्परागत प्यागोडा शैलीमा देख्न सकिन्छ । मन्दिरमा पित्तलको पाताको छानो छ । मन्दिरमा लाग्ने जात्रामात्रा, मेला पर्व सञ्चालन र संरक्षणका लागि तथा विकासको लागि स्थानीय समुदायबाट चम्पाकेश्वर क्षेत्र विकास समिति गठन गरिएको छ । स्थानीय समुदायको सक्रियतामा हाल मन्दिर परिषदको खोला नियन्त्रण, प्रङ्गण निर्माण चौसाठ्ठि लिङ्ग स्थापना ब्रम्हतिर्थ निर्माण जस्ता कार्यको शुरुवात गरिरहेको छ । मन्दिरको पुरातात्विक महत्वमा कर्मी हुन नदिइ चौतर्फी संरचना निर्माण तथा विकासका लागि गुरु योजना समेत निर्माण गरिएको छ ।

पालिका प्रेस
थप जानकारी