मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ की लक्ष्मीमायाँ भ्लोनको मुहारमा एकाएक चमक छाएको छ । उनी वि.सं. २०६१ सालमा पनि खुशी भएकी थिइन् । उतिबेला लक्ष्मीमायाँको गाउँमा खानेपानी योजना परेकोले खुशी थिएन् तर अहिले घरछेवैको धारामा खानेपानी आएपछि झन खुशी भइन् । यसबीचमा मुलुकमा गणतन्त्र आयो तर गाउँका धारामा पानी नआउँदा निरास बनेकी लक्ष्मीमायाको खुशीमा अब दिगोपन छाएको छ ।
बिहान पाँचै बजे उठेर डोको बोकेर पानी लिन जानुपर्ने दुःखका दिन सम्झँदै उनी भन्छिन्–‘गाग्रीमा पानी बोकेर उकालो चढ्दा आधा दिन बित्थ्यो, अब करेसाबारीमा सागपात लगाउन र गाईबस्तु पाल्नसमेत सजिलो हुने भयो ।’ साधारण लेखपढ समेत गर्न नसक्ने लक्ष्मीमाया भ्लोनकै नेतृत्वमा स्थानीय एकजुट हुँदै नयाँ खोरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरेकोे २१ वर्षपछि गाउँमा पानी भित्र्याएको हो । अहिले ६० घरधुरीले उक्त खानेपानी आयोजनाबाट प्रत्यक्ष रूपमासुविधा पाएका छन् ।
योजनाका लागि प्रयाप्त बजेट नहुँदा आयोजनालाई स्रोत जुटाउन चारवर्ष अघि लक्ष्मीमायाका छोरा पूर्णबहादुर भ्लोनले उपभोक्ता समितिको नेतृत्व सम्हाले । २१ वर्षअघि देखिएको सपना साकार पार्दै पूर्णबहादुर भन्छन्–‘हामी पुर्खादेखि खोल्साको पानी पिउँदै आएका थियौँ, अहिले सफा र पिउनयोग्य पानी २४ घण्टा घरमै आइरहेको छ।’ सुरुमा ५ हजार लिटर क्षमताको सानो ट्याङ्कीबाट सुरु गरिएको योजना विस्तार हुँदै अहिले ६३ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । बागमती प्रदेश सरकारको करिब ५६ लाख रुपैयाँ बजेट र स्थानीयको श्रमदानबाट आयोजना सम्पन्न भएको हो।
नयाँ खोरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले १५ पुसमा एक कार्यक्रमका बीच खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेको छ । समिति अध्यक्ष पूर्णबहादुर भ्लोनको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा धारा खोलेर आयोजनाको उद्घाटन गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वन उपभोक्ता समिति अध्यक्ष सर्कलाल लो, उपभोक्ता समिति सचिव सानुबहादुर तितुङलगायतको उपस्थिति रहेको थियो।
वडा अध्यक्ष तिमल्सिनाले पानीको अभावमा बितेका कठिन दिनहरु सम्झँदै भने–‘वि.सं.२०६१ सालमा दुई लाख रुपैयाँबाट योजना सुरु गरिएको थियो। सबै स्थानीयको सहकार्यले मात्र यो सम्भव भयो।” उनले पानीको दिगोपनाका लागि मितव्ययी भएर प्रयोग गर्न आग्रह गरे । प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले आगामी दिनमा थप बजेटको पहल गर्दै वडालाई अझ सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरिन् । ‘पानी गाउँसम्म ल्याउन योगदान गर्न पाउँदा खुसी लागेको छ,’–उनले थपिन् ।
स्थानीयका अनुसार मकवानपुरगढी–४ विकासका हिसाबले पछाडि परेको वडा हो । कमजोर सडक सञ्जालका कारण आवागमनमा समस्या रहे पनि गाउँसम्म खानेपानी पु¥याउनु असम्भवजस्तै ठानिएको काम सफल भएको उनीहरूको भनाइ छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्