जिल्ला निर्वाचन व्यवस्थापन समिति मकवानपुरले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम तयार पार्न सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने निर्वाचन व्यवस्थापन समितिले मतदानस्थलको सुरुक्षा समवेदनशीलताबारे अध्ययन तथा व्यवस्थापनको तयारी थालेको हो ।

समितिले मतदान स्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा समवेदनशीलता, जनशक्ति व्यवस्थापन, भौतिक संरचना तथा प्राविधिक पक्षलगायतका विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पारेको र उक्त प्रतिवेदन गृह मन्त्रालयमा पठाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक भरतमणि पाण्डेले बताए ।

उनका अनुसार, सुरक्षाका दृष्टिकोणले मकवानपुरका १० वटा स्थानीय तहका १६५ मतदानस्थल मध्ये राक्सिराङ्, हेटौंडा, बागमती, बकैयाका केही स्थल अति समवेदनशील छन् । अन्य मतदानस्थल सामान्य अवस्थामा रहेको प्रजिअ पाण्डेले बताए ।

गृह मन्त्रालयले स्थानीय तहको निर्वाचन लक्षित गरेर मतदानस्थलको अवस्थाका बारेमा प्रतिवेदन माग भए अनुसारको वर्गीकरण गरेर, सरोकारवाला र राजनीतिक दलहरुसँग छलफल गरी प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा पठाएको प्रजिअ पाण्डेले बताए ।

आगामी निर्वाचनमा मतदानस्थलको अवस्था र सुरक्षा समवेदनशीलताका आधारमा निर्वाचन सुरक्षा रणनीति अपनाइने उनले बताए । ‘हामीले मतदानस्थलको स्थलगत अवलोकन गरिसकेका छौं, गृह मन्त्रालयबाट माग भए वमोजिम सुरक्षा समवेदनशीलताका आधारमा मतदानस्थलहरुको वर्गीकरण र स्तरीकरण गरी पठाएका छौं,’ प्रजिअ पाण्डेले भने ।

राक्सिराङका अधिकांश मतदानस्थल अति संवेदनशिल

राक्सिराङका अधिकांश मतदान केन्द्र अति समवेदनशील रहेको समितिको निष्कर्ष छ । गृहमा पठाएको प्रतिवेदनमा मकवानपुरको राक्सिराङका अधिकांश मतदानस्थललाई अति समवेदनशीलमा वर्गीकरण गरेको प्रजिअ पाण्डेले बताए ।

राक्सिराङको ९ वडामा १९ वटा मतदान स्थलमा २१ मत केन्द्र छन् । भौगोलिक विकटता तथा सुरक्षाका हिसावले ती मतदान केन्द्रहरु अति समवेदनशील क्षेत्रमा वर्गीकरण गरिएको हो ।

प्रजिअ पाण्डेका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाका केही मतदानस्थललाई अति समवेदनशील क्षेत्रमा राखिएको छ । बागमती र बकैया गाउँपालिकाका पनि केही मतदानस्थल सुरक्षाका हिसावले समवेदनशील रहेको उनले बताए ।

विगतका निर्वाचनमा भएका घटनाहरुको समीक्षा गरेर आगामी निर्वाचनका लागि सुरक्षा रणनीति तयार पार्ने प्रजिअ पाण्डेले बताए ।

एक मतदान स्थल सार्ने र एउटा थप्ने निर्णय

स्थानीय तहको निर्वाचका लागि मकवानपुरको एक मतदानस्थल सार्ने निर्णय भएको छ भने एक मतदान स्थल थपिने भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को बासुदेव सभागृहको मतदान स्थल सार्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

बासुदेव सभागृह भत्काएर नयाँ भवन निर्माणको काम भइरहेकाले उक्त मतदानस्थल सार्ने निर्णय भएको प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिए ।

उक्त मतदानस्थललाई हेटौंडा–४ भूटनदेवी माध्यमिक विद्यालयमा सार्ने निर्णय भएको उनले बताए । उनका अनुसार सो निर्णयलाई निर्वाचन आयोगले पनि सदर गरिसकेको छ ।

त्यस्तै मनहरीमा एउटा मतदानस्थल थप गर्ने निर्णय भएको छ । मनहरी गाउँपालिका वडा नम्बर–६ मा मतदानस्थल थप गर्ने निर्णय भएको उनले बताए ।

भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा सो मतदानस्थल थप गर्ने निर्णय भएको र त्यसलाई निर्वाचन आयोगले पनि मान्यता दिएको उनको भनाइ छ ।

योसँगै मकवानपुरमा मतदानस्थलको संख्या १६५ पुगेको छ । यसअघि मकवानपुरमा १६४ वटा मतदानस्थल कायम थियो ।

३६५ मतदान केन्द्र बनाउने तयारी

स्थानीय तहको निर्वाचन तोकिएसँगै मकवानपुरमा मतदान केन्द्र थप गर्ने तयारी पनि सुरु गरिएको छ । २०७४ सालको निर्वाचनमा मकवानपुरका १६५ मतदान स्थलमा २९५ मतदान केन्द्र कायम गरिएको थियो ।

निर्वाचन कार्यालय मकवानपुरले यस पटक मतदान केन्द्र थपिने जनाएको छ । यस पटक मकवानपुरमा मतदाताको संख्यामा पनि वृद्धि भएकाले केन्द्र थप गर्ने तयारी भएको पोखरेलले बताए ।

भौगोलिक अवस्था, सुरक्षा समवेदनशीलता र मतदाता संख्याको आधारमा मतदान केन्द्रहरु थप गरिने उनले बताए । यसअघि कायम रहेका २९५ मतदान केन्द्र रहेको मकवानपुरमा यस पटक ३२५ मतदान केन्द्र कायम हुनसक्ने उनले बताए ।

के गर्दैछ प्रदेश निर्वाचन कार्यालय ?

निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको कार्यतालिका बमोजिम प्रदेश निर्वाचन कार्यालय हेटौंडा निर्वाचनको तयारीमा अघि बढेको छ ।

कार्यालयले मकवानपुरको निर्वाचन व्यवस्थापनका साथै बागमती प्रदेशको निर्वाचनको समन्वय गर्नेछ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले फागुन २० गते सबै वडामा मतदाता नामावलीको विवरण पठाएर, त्रुटि सच्याउने काम गरिरहेको निर्वाचन अधिकारी पोखरेलले बताए ।

फागुन २६ गतेसम्म सम्बन्धित वडाबाटै मतदाता नामावली सच्याउनु पर्ने भए सच्याउन सकिनेछ । मतदाता नामवलीमाथि दावी विरोधको लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भएर निवेदन दिन सकिने छ भने इमेलबाट पनि दाबी विरोधको निवेदन लिने काम भइरहेको उनले बताए ।

कार्यालयले चैत १५ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । अन्य कार्यक्रमहरु निर्वाचन आयोगले तोकिए बमोजिम हुने उनको भनाइ छ ।

मकवानपुरमा करिव ४० हजार मतदाता थपिए

मकवानपुरमा करिव ४० हजार जना मतदाता थपिएका छन् । मकवानपुरमा मतदाताको संख्या २ लाख ९५ हजार ५ सय ५० पुगेको हो । २०७४ सालको निर्वाचनमा मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ जना मतदाता थिए । यो संख्या २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयको हो ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता थिए ।

यस्तो छ मकवानपुरको मतदाता संख्या विवरण

  • इन्द्रसरोबर गाउँपालिकाः १२ हजार ४९५
  • कैलाश गाउँपालिका- १४ हजार ६२०
  • थाहा नगरपालिका- ३२ हजार ३१६
  • बकैया गाउँपालिका- ३० हजार ०१३
  • बागमती गाउँपालिका- २२ हजार ०९०
  • भीमफेदी गाउँपालिका- १७ हजार ४४७
  • मकवानपुरगढी गाउँपालिका- १९ हजार १५०
  • मनहरी गाउँपालिका- २६ हजार ७५१
  • राक्सिराङ गाउँपालिका- १५ हजार ८७३
पालिका प्रेस
थप जानकारी