भौगोलिक रूपमा विकट हुँदा तेह्रथुमको म्याङलुङ नगरपालिकामा नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच थिएन । सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर, अहिले नागरिकले नगरपालिका र वडाबाट  उपचार पाउन थालेका छन् । पाँच वर्षमा जनप्रतिनिधिको सक्रियताकै कारण म्याङलुङले स्वास्थ्य क्षेत्रमा विस्तारै प्रगति हासिल गर्न थालेको छ ।

म्याङलुङ नगरपालिकामा १० वटा वडा छन् । त्यसमध्ये अहिले ५ नम्बर वडामा बाहेक सबै वडामा स्वास्थ्य चौकी निर्माण भएका छन् । स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन जनप्रतिनिधिले जिल्ला अस्पताल एवं स्वास्थ्य चौकीको पूर्वाधार निर्माण र स्तरोन्नतिमा जोड दिए । अहिले वडा नम्बर १, २ र ३ मा जिल्ला अस्पतालबाट नागरिकले सेवा पाइरहेका छन् । यी स्वास्थ्य चौकीबाट नागरिकले सामान्य चिकित्सा, परिवार नियोजनका साधन, निःशुल्क प्रसूति सेवा पाउन थालेका छन् । पोषण कार्यक्रम सञ्चालन तथा स्वास्थ्य सल्लाह दिने गरिएको छ । गम्भीर बिरामीलाई नगरपालिकाबाट जिल्ला बाहिर पुर्‍याउन २४ घन्टै एम्बुलेन्स व्यवस्था गरिएको छ । वृद्धवृद्धाका लागि सबै वडामा शिविर सञ्चालन हुने गरेको नगरपालिकाको सामाजिक विकास शाखा अधिकृत जगदीश सुवेदीले बताए ।

बाल स्वास्थ्य, मातृ स्वास्थ्य कार्यक्रम नियमित रूपमा चलिरहेका छन् । दुर्गममा रहेको वडा नम्बर ७ को आंगबुंग स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण गरिएको छ । वडा नम्बर ७, ८ र ९ का महिलाले सेवा पाइरहेका छन् । जटिल हुँदाबाहेक यहाँका महिला उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था हटेको नगरपालिकाकी जनस्वास्थ्य अधिकृत मिनामोदन लिम्बूले जानकारी दिइन् ।

वडैपिच्छे स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन हुने गरेको छ । गर्भवती र सुत्केरीको स्वास्थ्योपचारमा ध्यान दिँदा अहिले बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउनेको संख्यामा वृद्धि भएको वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र तामाङको भनाइ छ ।

अन्य स्थानीय तहजस्तै म्याङलुङ पनि कोरोनाको चपेटामा प¥यो । तर, संक्रमितको नियमित स्वास्थ्य परीक्षण, अक्सिजनसहितका आइसोलेसन निर्माण गर्दा संक्रमितको नगरमै उपचार सम्भव भयो । कन्ट्याक्ट ट्रेसिङ गर्ने र आवश्यकताअनुसार अक्सिजन व्यवस्था गरियो । निःशुल्क एम्बुलेन्स व्यवस्था गरेर पनि नागरिकको जीवनरक्षा गर्न नगरपालिका सफल नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले बताए ।

पालिका प्रेस
थप जानकारी