आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ला/नगर्लाको आशंका करिब निवारण भएको छ । शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले तालमेलको पक्षमा अभिव्यक्ति दिएसँग कांग्रेसको कित्ता क्लियर भएको छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा तालमेलको पक्षमा थिए । देउवा समूहका केन्द्रीय सदस्यहरु पनि तामेलको पक्षमा उभिएका छन् । बहुमत केन्द्रीय सदस्यको मतका आधारमा देउवाले औपचारिक रुपमा तालमेलको निर्णय गराउन लागेका छन् ।
तालमेलको मोडालिटी तय गरेर सम्भवतः सोमबार कांग्रेस बैठक सकिने छ । पार्टीलाई जिताउने गरी मोडालिटी तय गरेर केन्द्रीय समितिको बैठक सकिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘के गर्दा पार्टीलाई फाइदा हुन्छ भन्ने बाहेक अरु मापदण्ड हुन सक्दैन,’ प्रवक्ता डा. महतले भने, ‘भोलि सबै बोलिसकेपछि कुन मोडालिटीमा जान्छ भन्ने निर्णय केन्द्रीय समितिले गर्छ ।’
नेताहरुका अनुसार तालमेलको मोडालिटी बनाउँदा कांग्रेसले अघिल्लो निर्वाचनमा पाएको मतभारलाई प्रमुख आधार बनाइने छ । २०७४ सालको निर्वाचनमा गठबन्धनका दलमध्ये आफू पहिलो स्थानमा रहेको पालिकाको मूल नेतृत्वमा कांग्रेसले दाबी गर्नेछ ।
अघिल्लो पटक माओवादी केन्द्रले जितेका स्थानमा तालमेलको मोडालिटी हुने भन्ने अन्यौल छ । माओवादी विजयी भएको स्थान छोड्दा कर्णालीमा धेरै स्थान दिनुपर्ने नेताहरुको बुझाई छ । तालमेलको पक्षमा रहेका कर्णाली प्रदेशका कांग्रेस सभापति ललितजंग शाही भन्छन्, ‘अघिल्लोपटक कांग्रेसले भन्दा माओवादीले धेरै जितेको भएपनि सबै छोड्न सकिन्न । त्यहाँको अवस्था हेर्नुपर्दछ ।’


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्