पाँच वर्षअघिको स्थानीय चुनावमा धादिङको सिद्धलेक गाउँपालिकामा अध्यक्षमा प्रेमनाथ सिलवाल र उपाध्यक्ष कमला शर्मा विजयी भए । एमालेबाट निर्वाचित दुवै जना यो चुनावमा पनि उठ्ने भएका छन् । एमाले गाउँपालिका कमिटिले उनीहरूको कार्यकालमा धेरै राम्रा काम भएकाले उम्मेदवारी दोहोर्‍याउने निर्णय गरिएको हो ।
गाउँपालिका अध्यक्षको टिकट पाएसँगै सिलवाल चुनावी तयारीमा जुटिसकेका छन् । गएको चुनावमा वाचा गरेका योजना पूरा गर्न नसकेका उनले फेरि अर्को कार्यकाल ताकेका हुन् । ‘खानेपानी, कृषि, पर्यटन जस्ता महत्त्वपूर्ण योजनाहरू अधुरै छन्,’ सिलवालले भने, ‘नयाँ चुनावी एजेन्डा नभए पनि आफूले थालनी गरेका योजना पूरा गर्न र जनताले देखिने गरि काम गर्न एक पटक अध्यक्षमा नै दोहोर्‍याउन लागेको हुँ ।’

नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगाना यस पटक पनि नगर प्रमुखको प्रमुख दाबेदारका रूपमा चिनिएका छन् । ढुंगानाले मतदाता स्तरमा पुगेर आफ्नो उम्मेदवारी घोषणा नगरे पनि पार्टी नेतृत्व र आफू निकटका नेताहरूसँग टिकट मिलाउने दौडधुपमा छन् । ‘पहिलो पटक मेयर हुँदा जति काम गरे त्योभन्दा धेरै काम गर्न बाँकी छ त्यसैले पनि मेरो माग हुनु र मैले उम्मेदवार बन्छु भन्नु कुनै नौलो कुरा हुँदैन,’ ढुंगानाले भने ।

नीलकण्ठ नगरपालिका उपप्रमुख मनराज भण्डारी पनि नगरप्रमुखमा उठ्ने दाउमा छन् । गएको चुनावमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा माओवादीबाट उपप्रमुख पाएका भण्डारी अहिले गठबन्धन नभएपनि प्रमुखमा लड्ने बताउँछन् । ‘पाँच वर्षसम्म उपप्रमुख भएर काम गरियो, जनप्रतिनिधि भएर स्थानीय तहमा काम गरेको अनुभवले पनि यो पटक मेरो मेयरमा दाबेदारी हो’ भण्डारीले भने ।

कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादीबीच गठबन्धन भए पनि नीलकण्ठ कांग्रेसको भागमा पर्ने लगभग निश्चित छ । एमालेका अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) ले नगर प्रमुखको आकांक्षा देखाएका छन् । अघिल्लो चुनावमा उनी प्रमुखमा ढुंगानासँग पराजित भएका थिए ।

जिल्लाको अर्को नगरपालिका धुनिबेसीमा पनि हालका नगर प्रमुख बालकृष्ण आचार्यलाई नै प्रमुख दाबेदारका रूपमा हेरिएको छ । नेकपा एमालेबाट नगरप्रमुख जितेका आचार्य र उपप्रमुख नीरु खरेल एमाले विभाजन भएपछि एकीकृत समाजवादीतर्फ लागेका छन् । विभाजनपछि एमालेलाई आफ्नो विरासत जोगाउन हम्मे छ । गठबन्धनमा धुनिबेसी नगरपालिका समाजवादीकै भागमा पर्ने सम्भावना धेरै भएको आचार्यले आफ्नो चुनावी गतिविधि तीव्र पारिरहेका छन् । आचार्य भन्छन्, ‘पाँच वर्ष जनताको घरदैलोमा पुगेर सेवा दिएका छौं, धेरै कुरा सिकेका पनि छौं, अझ गर्न बाँकी रहेका कामहरू अबका दिनमा गर्नका लागि पुनः नेतृत्व सम्हाल्न चाहन्छु ।’

उपप्रमुख नीरु खरेलको पनि प्रमुखमा दाबी छ । ‘अहिले जनप्रतिनिधि भएर काम गरिरहेका साथीहरूले पनि प्रमोसन भएर जानुपर्छ भनेर आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्, नयाँ नेता कार्यकर्ताको पनि आकांक्षा धेरै छ,’ खरेलले भनिन्, ‘अघिल्लो चुनावमा पालिकाका उपप्रमुखमा विजयी भएका र वडा सदस्यमा विजयी भएकाहरू धेरैको अध्यक्षमा दाबी छ ।’ धुनिबेसीमा यसअघि आचार्य र खरेलसँग पराजित भएका कांग्रेस र माओवादीका तत्कालीन उम्मेदवारहरू अहिले पनि उम्मेदवारीका लागि गाउँबस्तीमा आफ्नो सांगठानिक गतिविधि तीव्र पारिरहेका छन् ।

आसन्न स्थानीय निर्वाचनमा पालिका तहका आकांक्षीहरू पुरानै अनुहार बढी देखिएका छन् । उम्मेदवार छनोट प्रक्रिया सुरु हुँदै गर्दा अहिले पनि पालिका प्रमुख उपप्रमुखहरूले नै पार्टी नेतृत्वसँग उम्मेदवारको लागि लविङ गरिरहेका छन् । हाल पालिकाहरूमा प्रमुख, उपप्रमुख सम्हालिरहेकाहरूले मतदाता स्तरमा आफू पनि उम्मेदवार हो भनेर घोषणा नगरेपनि आफुभन्दा माथिल्लो तहसग मरिमेटेर लविङ गरिरहेका छन् । जिल्लामा रहेको २ वटा नगरपालिका र ११ वटा गाउापालिकाका प्रायः सबै प्रमुख र उपप्रमुखले नै मेयर/अध्यक्ष बन्न पार्टी नेतृत्वसँग अनुनय गरिरहेको नेताहरूले बताएका छन् । जिल्लामा सक्रिय सबै पार्टीका नेतृत्वले भने पालिका स्तरका आकांक्षीका बारेमा मुख खोलेका छैनन् । वडा स्तरको आकांक्षीको टुंगो लगाएपछि मात्रै पालिकास्तरमा छलफल सुरु गर्ने नेताहरूको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी