नेपाली काँग्रेस थाहानगर १२ नम्बर वडा कार्य समितिको आयोजनामा ‘घर घर जाऔँ काँग्रेस जिताऔ’ अभियानअन्तर्गत टिष्टुङमा नेपाल तरुण दल गठन तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।

मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर १२ को टिष्टुङ दोभनखोलामा ५ वैशाखमा भएको कार्यक्रममा काँग्रेस नेताहरुले लोकतन्त्र गर्न संस्थागत र विकासका लागि आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक भएको बताए ।

काँग्रेस २ नम्बर वडा कार्य समितिका सभापति उर्वन तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता जयराम लामिछाने मकवानपुरमा पटक पटक कम्युनिष्टले जितेपनि जनताले विकासको अनुभूति गर्न नसकेकोले जिल्लाको समानुपातिक विकासका लागि काँग्रेसलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा काँग्रेस मकवानपुरमा जिल्ला सचिब ईश्वर पाठक, जिल्ला सदस्य सुनमाया भोम्जन, महासमिति सदस्य भरत लामा, प्रदेशसभा २ (क) का क्षेत्रीय समितिका उपसभापति ईश्वरी शाही ठकुरी, थाहानगर सभापति प्रमोदकृष्ण जोशी, नगर समितिका सदस्य भरत गोपाली, टीकाराम स्याङ्तानलगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ३९ जना काँग्रेसमा प्रवेश गरेको काँग्रेस थाहानगरले बताएको छ । कार्यक्रममा फूलमान स्याङतानको अध्यक्षतामा ५५ सदस्यीय नेपाल तरुण दल थाहानगर १२ नम्बर वडा समिति गठन गरिएको छ ।