नेकपा एकीकृत समाजवादीका मकवानपुर सचिवालय सदस्य डम्बर लामा नेकपा एमालेमै फर्किएका छन् ।

मे दिवशको अवसरमा १८ वैशाखमा हेटौंडामा आयोजित आमसभामा एसका जिल्ला सचिवालय सदस्य लामासहित सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् । लामा एसका तर्फबाट थाहा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्षका उमेदवार समेत हुन् ।

पार्टी प्रवेश गरेकाहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा लगाइ स्वागत गरेका थिए ।

को हुन् डम्बर लामा ?
थाहा नगरपालिका वडा नं. ८ का स्थायी बासिन्दा डम्बर लामा २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेको तर्फबाट आग्रा गाउँ विकास समितिको वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसको ठीक २० वर्षपछि गणतन्त्र नेपालको पहिलो स्थानीय निर्वाचन हुँदा उनीलाई एमालेले पुनः वडा अध्यक्षको उमेदवार बनायो । उक्त चुनावमा उनी झिनो मतान्तरले पराजित हुन पुगे । त्यतिबेला काँग्रेस र राप्रपाले माओवादी केन्द्रलाई मत दिएकाले आफू पराजित हुन पुगेको लामा जिकिर गर्छन् ।

सानै उमेरमा एमालेमा आवद्ध लामा एक पटक आग्रा गाउँ कमिटीको उपाध्यक्ष र तीन पटक अध्यक्ष भए । एमालेको भातृ संगठन युवा संघ नेपालको जिल्ला कमिटी सदस्य रहेका लामा एमाले थाहा नगर कमिटी सचिवालय सदस्य समेत रहेका थिए । त्यसबीच उनी नेपाल यातायात स्वतन्त्र मजदुर संथठनका हेटौँडा उपमहानगरपालिका अध्यक्ष हुँदै बागमती प्रदेश कमिटीका निर्वाचित सदस्यसमेत रहेका थिए । पेट्रोलियम पदार्थ ढुवानी महासंघमा ट्याङ्कर क्षेत्रको इन्चार्जसमेत रहेका लामा पार्टीमा प्रभावशाली नेता मानिँदै आएका थिए ।

ग्रामीण विकास र राजनीतिशास्त्रमा आइए गरेका नेता लामा पछिल्लो समय नेकपा एसको जिल्ला सचिवालय सदस्य एवम् थाहानगर सहइन्चार्ज रहेका थिए । संघीयताको कार्यान्वयनको क्रममा आग्रालाई थाहा नगरपालिकामा समावेश गर्न उनको ठूलो भूमिका रहेका थियो ।

पालिका प्रेस
थप जानकारी