गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले गाउँपालिका भवन निर्माणसम्बन्धी टेन्डर खारेज गरेका छन् । अध्यक्षको रुपमा पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गर्दै उनले गाउँपालिकाको अघिल्लो नेतृत्वले भवन निर्माणका लागि अघि बढाएको टेण्डर प्रक्रिया खारेज गरेका हुन् ।
सो विषयलाई लिएर गाउँसभामा विवाद हुँदै आएको थियो । त्यतिबेला माओवादी केन्द्रबाट निर्वाचित गाउँ कार्यपालिका सदस्यले वडा नम्बर ६ को बन्टार भन्ने ठाउँमा केन्द्र रहनुपर्ने आवाज उठाउँदै आएका थिए । यस्तै नेपाली काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यले भने हाल रहेकै स्थानमा केन्द्र राख्न जोड गर्दै आएका छन् । यही विवादका कारण निर्वाचन भएको ६ महिनाभित्र तोक्नु पर्ने केन्द्र हाल सम्म लम्बिँदै आएको छ। हालै सम्पन्न निर्वाचनमा माओवादीबाट पालिका अध्यक्षमा तिमल्सिना निर्वाचित भएसँगै फेरि केन्द्र तोक्ने र पालिका भवन बनाउने कुरा सतहमा आएको हो ।
पालिका भवनको टेण्डर खारेज गरेको विषयमा अध्यक्ष तिमल्सिनाले भने, ‘ पहिलो कुरा पालिका केन्द्र तोक्ने कुरामा अघिल्लो नेतृत्व चुक्दा यो समस्या सिर्जना भएको हो । हाम्रो पार्टीले त्यतिबेलै जनतालाई पायक पर्ने र सुगम हुने हिसाबले केन्द्र तोक्न पटक पटक अनुरोध गर्दापनि नेतृत्वले नसुनेपछि यो समस्या आजसम्म आइपुगेको हो । निर्वाचनको क्रममा पालिकाभरी घुम्ने क्रममा मतदाताले प्रमुख मुद्दा पालिका केन्द्रलाई बनाएको र मत परिणाम पनि त्यही भावनामा आएकाले पालिकाबासीको भवनालाई सम्बोधन गर्न तत्कालका लागि टेण्डर खारेज गरिएको हो ।’
अब छिट्टै नै कार्यपालिकाको बैठक बसेर जनभावना अनुसार प्रशासनिक सुगमता रहने गरी पालिकाको केन्द्र तोकेर गाउँसभाबाट पारित गरिने उनले बताए । त्यसपछि नयाँ टेन्डर आह्वान हुने उनको भनाइ छ ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्