मुलुकभरका ७५३ स्थानीय तहमध्ये सोमवार साँझ साढे ७ बजेसम्म ७३४ पालिकाको मतगणना सकिँदा नेपाली कांग्रेस ३२२ पालिकाको प्रमुख जितेर पहिलो पार्टी बनेको छ ।

नेकपा एमालेले २ सय स्थानीय तहको प्रमुख जितेर दोस्रो स्थानमा रहँदा माओवादी केन्द्र १२० स्थान जितेर तेस्रो स्थानमा छ । जनता समाजवादी पार्टीले २९ पालिकाका प्रमुख जितेर चौथो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीले १८ पालिका प्रमुख जितेर पाँचौँ स्थान कायम गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १५ पालिका प्रमुख जितेर छैटौँ स्थान कायम गर्दा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले चार-चार पालिका प्रमुख जितेका छन् । जनमत पार्टीले २ पालिका र नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले पनि एक-एक पालिका प्रमुख जितेर अस्तित्व कायम गरेका छन् ।

उपप्रमुखतर्फ कांग्रेस र एमालेबीच ६५ सिटको फरक छ । कांग्रेसबाट २९५ जना उपप्रमुख जित्दा एमालेका २३० जनाले जितेका छन् । त्यस्तै माओवादी केन्द्रका १२५, जसपाका ३० र नेकपा एसका २२ जनाले उपप्रमुख जितेका छन् ।

त्यस्तै लोसपाका ११ जना र राप्रपाका ३ जनाले उपप्रमुख जित्दा नागरिक उन्मुक्ति पार्टीका पनि ४ जनाले उपप्रमुख जितेका छन् । अब प्रदेश १ मा झापाको मेचीनगर नगरपालिकाको परिणाम आउन बाँकी छ । त्यहाँ नेकपा एमालेको जित निश्चित छ । त्यस्तै उदयपुरको कटारी र त्रियुगा नगरपालिकाको पनि परिणाम आउन बाँकी छ ।

पालिका प्रेस
थप जानकारी