मकवानपुरको थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालित सम्पूर्ण योजना तथा कार्यक्रमहरुको रकम भुक्तानीको लागि आगामी १५ असारभित्र कागजात पेश गरिसक्न सम्बन्धित सबैलाई सूचना जारी गरेको छ ।
थाहा नगर कार्यपालिकाको कार्यालयले २५ जेठमा एक सूचना जारी गर्दै १५ असारभित्र भुक्तानीका लागि आवश्यक रीत पु¥याई कागजातसहित माग पेश हुन नआएमा नगर कार्यपालिका जिम्मेवार र जवाफदेही नहुने र स्वयम् सरोकारवाला नै जिम्मेवार हुनेसमेत स्पष्ट पारेको छ । नगरपालिका अन्तर्गत सबै वडा कार्यालयहरु, सबै विषयगत शाखाहरु, सबै उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरु, सबै सरोकारवाला निकाय र संघसंस्थाहरुको नाममा सूचना जारी गरिएको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा ७ दिन अगावै भुक्तानी दिई लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था भएकोले १५ असारसम्म भुक्तानी माग गर्न सरोकारवालालाई समयमै सूचित गरिएको थाहा नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए ।
स्थानीय तहहरुले सरकारी कारोबारको अभिलेखाङ्कन गर्दै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) गत आर्थिक वर्ष २०७७/०७८ मा असार मसान्तमा बन्द भएकोमा चालु आव २०७८/०७९ मा ७ दिन अगावै बन्द हुने महालेखा नियन्त्रकको कार्यालयले परिपत्र गरेको थाहा नगरपालिकाले जनाएको छ ।
नगरपालिकाबाट सञ्चालित अन्य योजना तथा कार्यक्रम १५ असार, २०७९ भित्र सम्पन्न गरी भुक्तानीको माग गर्नुपर्ने र २० असारभित्र सबै योजनाको फरफारक गरिसक्नु पर्ने सूचनामा जनाइएको छ । त्यस्तै संघीय सरकार तथा प्रदेश सरकारको सशर्त, समपुरक र विशेष अनुदान तथा प्रदेश पूर्वाधारतर्फको सबै योजना तथा कार्यक्रम १० असार भित्रै सम्पन्न गरी भुक्तानीको लागि पेश गर्नुपर्ने सूचनामा भनिएको छ ।
हेर्नुहोस् सूचना:




























































प्रतिक्रिया दिनुहोस्