मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ५ को खोलाखर्क बस्ती । बारी र बस्ती पनि सँगसँगै छ । कोहीकोहीको घरदेखि अलि पर खोरिया बारी छ । तर, सबैको बारी नै बारी । उनीहरुको खेत छैन । वस्ती र बारी चारैतिर कालिदेवी सामुदायिक वनको घना जंगल छ ।

तरकारी खेतीसंगै खोलाखर्क बासीले धेरै मकै रोपेका छन् । उनीहरुले दुःख गरेर हुर्काएकोे दुधेमकैमा हारी लागिसकेको छ । तर यसपालि मकै भत्र्याउन पाइँदैन भन्नेमा प्रायः किसान दुःखी छन् । किनभने बाँदरले बारीको मकै सोत्तर पारिसक्यो । बाँदरले दिनदिनै वितण्डा मच्चाइरहेको छ । किसानहरुले बाँदरबाट बाली जोगाइदिन हारगुहार गरिरहेका छन् । खोलाखर्कका किसान सुमन वाइवा भन्छन्,–‘कस्लाई सुनाउँ हाम्रो पीडा ?, कम्सेकम सम्चार त लेखिदिनुस् ।’

बाँदरबाट मकै जोगाउने उपाय खोज्न वाइवाले थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारीलाई फोन गरे । नगरपालिकाका कृषि हाकिम तिवारीले कृषक वाइवाको गुनासो त सुने तर उपाय बताउन सकेनन् । तिवारीले कृषक वाइवालाई फोनमै भने,–‘वडा कार्यालयमा सम्पर्क गर्नुस् केही हुन सक्छ ।’ पालिकाका कृषि हाकिम तिवारीको यस्तो जवाफ सुनेपछि कृषक गोले झन् निरास् छन् । गाउँका नेतादेखि प्रतिनीधिहरुलाई समेत हारगुहार गरिरहेका कृषक सुमनको गुनासो र हाउभाउ निकै पीडादायी छ ।

पहिले पहिले लेकतिर देखिने रातो बाँदरको माउ बच्चा सराबरी छन् । बच्चा च्याप्दै झुण्ड्याउँदै बाँदरको बथानै बारीमा पस्ने गरेको गोलेले बताए । ‘च्वाँ–च्वाँ र चिँचिँ गर्दै मकै बारीमा पस्छन्, हरिया ढोड लडाउँदै दुधेमकैको घोका नङ्ग्याँउँछन्, धपाउन त परैको कुरा बाँदरको बथान नजिक जानै सकिँदैन’ उनले सुनाए । बाँदर आएको देखेपछि कुकुर भुक्दै दौडेर बारीमा पुग्छ, क्वाइँ–क्वाइँ गर्दै फर्किन्छ । ‘बाँदरको बथानै भएपछि समाएर लबेटा लाउँदो रैछ, कुकुर पनि बारीमा जानै डराउँछ’–उनले भने–‘महिलाहरुलाई पनि बाँदरले नटेर्ने रहेछ लखेट्न गयो उल्टै झम्टिन्छ ।’ बालीतः बिगार्यो–बिगार्यो मान्छेलै नै आक्रमण गर्ला भनेर एक्लै मकै बारीमा पस्नै डरमर्दो भएको वाइवाले बताए ।

खोलाखर्क गाउँमा मकै निकै सप्रिएको थियो । बाँदरको वितण्डापछि छ्याङ्छ्याङ्ती भएको छ । बाँदर नजिकैको कालिदेवी सामुदायिक वनमा लुकेर बस्ने र मान्छे यस्सो ओल्टोकोल्टो लागेको थाहा पाएपछि बारीमा आइहाल्ने कृषक सानु माइलो वाइवाले बताए । अहिले त खोलाखर्कका स्थानीयहरु पालो मिलाएर गस्ती नै गर्न थालेका छन् । ‘यताबाट लखेट्यो उता भाग्छ यताबाट लखेट्यो उता जान्छ’–सानु माइलाले भने ।

छिप्पेको भन्दा दुधे मकै भएको ठाउँमा बाँदरले बढी क्षति गराएको छ । खाएर मात्रै होइन खेलेर पनि मकैको बोट भाँचिदिएको छ । कोही भाँच्ने, कोही ओखेल्ने काम नलाग्ने बनाइदिएको छ । स्थानीय कृषक केशर बहादुर वाइवा भन्छन्, ‘बाँदरले यस्तो यति धेरै क्षति गरेको यस्पाली पहिलो पटक देखियो।’ उनले थपे–‘पहिले पहिले आक्कलझुक्कल आउँथ्यो, गाउँलेले लखेटेपछि भाग्थ्यो यसपाली त टेर्दै टेरेन ।’

बल्ल–बल्ल रासायनिक मल बटुलेर मकै फलाएका खोलाखर्कका किसानहरुलाई अहिले बाँदरको वितण्डा खेपी नसक्नु छ । मान्छे बराबर अग्ला मकैका बोट ढालेर बाँदरले घोगा नङ्ग्याउँदै बारीमै फालिदिएको छ । बाँदर पसेर खानू खाँदोरेछन् नत्र सबै बिगारेर बारीमै रहिमट्ट पारेको छ,–कृषक वीरसिंह वाइवाले भने–‘दिनदिनै डोकाको डोडा खोया घरमा ओसार्नु परेको छ ।’ घाम पानी भोक प्यासको प्रवाह नगरी हुर्काएको मकै भित्र्याउने बेला बँदेलले सखाप पारेपछि गाउँभरीका किसान चिन्तित् बनेका छन्।

कुकुर लिएर लौरो भाटा बोकेर बारीमा गस्ती गर्ने, स्पिकरमा बाघ र बन्दुकको आवाज बजाउने, टिन ठटाउने गरेर बाँदर भगाइरहेको किसानहरुले बताएका छन् । ‘एकदुई दिन त स्पिकर बजाउँदा नि बाँदर तर्सिएर भाग्यो, अहिले त पत्याउनै छाड्यो’–स्थानीय जीत बहादुर वाइवाले भने । ‘करिब ३५ रोपनी क्षेत्रमा लगाइएको मकै बाली क्षति भईसकेको छ, अझ कति क्षेति गराउँछ थाहा छैन तर, पनि हामी किसानहरुले औपचारिक रुपमा क्षतिको विवरण लिएर नगरपालिका गएका छैनौ’ कृषक सुमन वाइवाले सुनाए।

अहिलेसम्म खोलाखर्कका करिब ३५ कृषक परिवारको मकै बाली बाँदरले नष्ट गरिसकेको छ । अहिलेसम्म कहि पनि खोलाखर्कका किसानहरुले आधिकारिक रुपमा क्षतिपूर्ति माग गरेका छैनन् । ‘क्षति पु¥यायो भनेर कस्लाई भन्ने नै थाहा छैन, सकेसम्म बाँदरले आ–आफ्नो बारीमा आउनबाट रोक्ने कोसिस मात्रै गरिरहेका छौं’ किसान जीत बहादुर वाइवाले भने ।

खोलाखर्कमा जस्तै गहते पाखाका किसानहरु पनि बाँदरको अचाक्ली देख्दा आत्तिएका छन् । गहतेपाखामा त झन घरभित्रै पसेर बाँदरले भातै खाइदिने गरेको स्थानीय जबरसिं गोपालीले बताए । ‘बाँदर त घरको छनाछना कुद्छ, मेरो त घरमा पकाएर राख्या भातै खाइदियो’– गोपालीले भने । गहते पाखाका किसानले लगाएको अन्न र तरकारी बालीमा पनि उस्तै बिगार गरेको गोपालीले सुनाए । गहते पाखाका करिब ४० घर किसान परिवार बाँदर पीडित भएको उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी