मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन् । उनले नेकपा एकिकृत समाजवादीका विरोध खतिवडालाई चार हजार पाँचसय २० मतको अन्तरले हराउँदे विजयी भएका हुन् ।

पहिलो पटक संसदीय निर्वाचन लडेका बर्तौलाले यस क्षेत्रका प्रभावशाली तथा सदावहार नेता खतिवडालाई हराएका हुन् । बर्तौलाले ३४ हजार नौसय १६ मत र खतिवडाले ३० हजार तीनसय ९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ८६ हजार तीनसय एक मत खसेको थियो । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरेका छन् । चार हजार एकसय दुई मत बदर भएको छ । प्रतिनिधिसभा मकवानपुर २ मा दश जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

२०४३ सालदेखि चुनाव लड्दै आएका खतिवडा यो पटक भने आफ्नै कार्यकर्तासँग चुनावी प्रतिस्पर्धामा हार्न बाध्य भए । विद्यार्थी राजनीतिदेखि खतिवडाकै स्कुलिङमा राजनीतिमा प्रवेश गरेका ४० वर्षीय बर्तौला पार्टी बिभाजनपछि नेकपा एकिकृत समाजवादीमा आबद्ध भएका खतिवडासँग चुनाव लडेका हुन् । मकवानपुर २ मा खतिवडा छैट्टौं पटक उम्मेदवार बनेका थिए । नेकपा एमालेबाट खतिवडाले २०४८, २०५१, २०५६ र २०७४ मा चुनाव जितेका छन् । यो पटक भने खतिवडालाई ठूला दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई साथमा लिएर ठूलो जनमत आफ्ना पक्षमा पार्नुपर्ने चुनौती थियो । त्यो चुनौती पुरा हुन सकेन ।

अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भएका बर्तौलाले विद्यार्थी राजनीतिबाट अलग्गिएको १ वर्षमै संसदीय चुनावको टिकट पाएका हुन् । उनलाई विद्यार्थी राजनीतिमा ल्याउन खतिवडाले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । खतिवडाले एमाले छाडेपछि भने उनलाई मकवानपुर २ बाट टिकट लिन सहज भएको हो । यस क्षेत्रमा एमालेलाई राप्रपाको साथ छ । ‘यो मेरो जित हैन,सबै जनताको जित हो,म बाचा गरे अनुसारको काम गर्छु’’ बर्तौलाले भने ।

पालिका प्रेस
थप जानकारी