मुहान क्षेत्रमा अबैध क्रसर उद्योगहरू र ताल वरपर होटल सञ्चालनका कारण कुलेखानी जलविद्युत् आयोजनाको पानी संकलन केन्द्र इन्द्रसरोवर ताल संकटमा पर्दै गएको छ। इन्द्रसरोवर तालको मुहान रहेका आधा दर्जन खोला तथा खहरेबाट बग्ने पानीलाई ड्याम बनाएर चार दशकदेखि विद्युत् उत्पादन गरिँदै आएको छ।
तर, मानवीय क्रियाकपालका कारण ताल र तालको मुहान संकटमा पर्दै गएको हो। नेपाल विद्युत् प्राधिकरणले २०३८ सालमा इन्द्र सरोवर ताल निर्माण गरेको थियो। अहिले तालको मुहान क्षेत्रमा अबैध क्रसर तथा बालुवाखानी स्थापना गरिएको छ। थाहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका यस्ता खानीबाट उत्पादित मसिना ढुंगा, बालुवा बगेर इन्द्रसरोवर तालमा गएर मिसिने गरेको छ।
इन्द्रसरोवर तालको मुहानहरूमा ४ वटा क्रसर उद्योग, बालुवा प्रशोधन तथा खानीहरू सञ्चालनमा रहेका छन्। तालमा यी उद्योगबाट निस्केका ढुंगा, बालुवा सबै बगेर थुप्रिने गरेको छ। यस्ता उद्योग दर्ता, सञ्चालन र नियमनको अनुमति प्राधिकरणलाई नभएका कारण केही गर्न नसकेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ। कुलेखानीको मुहान क्षेत्रस्थित थाहा नगरपालिका–२ मा ऋषेश्वर बालुवा उद्योग, थाहा नगरपालिका–५ मा पीएस बालुवा प्रशोधन उद्योग, थाहा–१ खानीगाउँमा साझा रोडा ढुंगा उद्योग र थाहा–१ मा सिद्धि विनायक क्रसिङ उद्योग रहेको छ।
‘४० वर्षमा २३ लाख क्युविक मिटरसम्म बालुवा जम्मा भइसकेको छ’, कुलेखानी प्रथम आयोजना प्रमुख धिरेन्द्र चौधरीले भने। वर्षेनी यसरी तालको गहिराइ कम हुँदै जाने हो भने, अबको केही वर्षमा विद्युत् उत्पादनमा समेत समस्या हुने प्राविधिकहरूको भनाइ छ।
४६ मिटर पानीको माथिल्लो सतहको पानी टर्बाइनमा जाने गरेको र थेग्रिएको बालुवा सो सिमासम्म आइपुगेमा पानी जम्मा हुने सतह बढाउँदै लैजानुपर्ने आयोजना प्रमुख चौधरीले बताए। ‘यो रनिङ रिभरबाट सञ्चालित आयोजना नभएकाले त्यहाँभित्र जम्मा भएको माटो, बालुवा निकालेर फाल्न समस्या हुन्छ’, उनले भने।
तालको जमिन चर्चेर होटल
तालको जमिनमा आधा दर्जन बढी होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन्। विसं. २०३८ सालमा सो स्थानमा प्राधिकरणले आयोजना सुरु गर्ने भएपछि वरिपरि रहेका वस्तीहरू मुआब्जा दिएर अधिग्रहण गरेको थियो। तर, अहिले प्राधिकरणको स्वामित्वमा रहेको जग्गामै ठूलाठूला होटल, रेस्टुरेन्ट खुलेका छन्। ती होटलबाट निस्कने फोहोर सिधै तालमा मिसाउने गरिएको छ।
तालको पानीभित्रै होटल निर्माण भएपनि प्राधिकरणले त्यसलाई रोक्न सकेको छैन।आफ्नो जमिन कति अतिक्रमित भयो भन्ने तथ्यांकसमेत प्राधिकरणसँग छैन। होटल सञ्चालनको अनुमित अन्य निकायले दिने भएकाले समस्या भएको आयोजना प्रमुख चौधरीले बताए।
कुलेखानी ताल क्षेत्रमा पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन्। ‘मानव निर्मित ताल नै दिनदिनै संकट उन्मूख हुँदै जाने हो भने एक दिन यसको अस्तित्व मेटिने प्रायः निश्चित छ’, स्थानीय रहरमान लामाले भने, ‘हामी गाउँले भएकाले बोल्न मिलेन, राज्यको निकायले केही गर्दैन।’
विषादीका कारण माछा उत्पादनमा असर
इन्द्रसरोवर तालमा वर्षेनी माछा उत्पादनमासमेत असर पर्दै गएको छ। किसानहरूले तरकारी उत्पानदमा विषादी प्रयोग गर्न थालेकाले उक्त विष बगेर आउँदा माछापालनमा असर पर्ने गरेको मत्स्य ब्यवसायी संघका अध्यक्ष ज्वारीलाल बलामीले बताए। ‘वार्षिक ५० हजार किलोससम्म माछा उत्पादन हुने गरेकोमा अहिले ३० हजार किलोसम्म मात्रै उत्पादन हुने गरेको छ’, उनले भने, ‘तालको सतह घट्दै जानु र तरकारी उत्पादनमा विषादी प्रयोगले यो समस्या आएको हो।’
स्थानीयहरूले ताल आसपासको क्षेत्रलाई जलाधार संरक्षित क्षेत्र घोषणा गर्न माग गर्दैै आएको छ। तर, कार्यान्वयन हुन सकेको छैन। २०७२ को भूकम्पपछि कुलेखानीको कतिपय मुहान सुकेको स्थानीयहरूले बताएका छन्। जलासयमा पालुङ खोला, चित्लाङ खोला, चल्खु खोला, ठाडो खोला लगायतका आधा दर्जन मुहानबाट पानी जम्मा हुने गरेको छ।
विद्युत् प्राधिकरणले कुलेखानी सञ्चालन बापत मकवानपुरलाई उपलब्ध गराउँदै आएको रोयल्टी कुलेखानी जलाधार क्षेत्रको विकासमा खर्च हुन सकेको छैन। इन्द्रसरोबर गाउँपालिका र थाहा नगरपालिकाले रोयल्टीको रकम अन्य क्षेत्रमा लगानी गर्दै आएको छ।
इन्द्रसरोवर ताल क्षेत्रसहित प्राधिकरणको धोर्सिङ स्टेसन गरी ३ हजार ४ सय ५१ रोपनी जग्गा रहेको छ। यसमध्ये २ दशमलब २ वर्ग किलोमिटरमा ताल क्षेत्र रहेको छ। १ सय १४ मिटर गहिराइको यो तालको लम्बाइ ८ किलोमिटर रहेको छ।
तालमा संचित पानीबाट प्राधिकरणले विद्युत् उत्पादन गर्दै आएको छ। कुलेखानी पहिलो र दोस्रोबाट गरी हाल ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पदन हुँदै आएको छ।
-अन्नतपुर्ण पोष्टबाट
प्रतिक्रिया दिनुहोस्