

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा शाखा कार्यालय रही सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम भएको छ । ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको सवाललाई मध्येनजर गर्दै संभावित दुर्घटना न्यूनीकरण गर्न महालक्ष्मी बैंकले थाहानगरमा सञ्चालन हुने तीन पाङ्ग्रे अटो चालकहरुको सहभागीतामा सचेतनामुलक कार्यक्रम गरेको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरेको बजनाएको छ ।
दुर्घटना न्युनीकरणका लागि सचेतना कार्यक्रमको साथै उनीहरुलाई वित्तिय साक्षरता तालिम पनि दिइएको छ । सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुनसक्ने सम्भावित कारणलगायतका सडक पर्मिटको विषयमा चालकहरुलाई तालिम दिइएको हो । सहभागीहरुलाई ईलाका प्रहरी कार्यालय पालुङका ट्राफिक शाखामा कार्यरत ट्राफिक प्रहरी कुमार मैनाली र ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक उमेश प्रसाद कोइरीले सहजीकरण गरेका थिए ।
कार्यक्रमको अवसरमा महालक्ष्मी विकास बैंक बागमती प्रदेश (ख) का प्रमुख शम्भु प्रसाद पराजुलीले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई हरेक पालिकामा पुग्नुपर्ने नीति लिएपछि बैंकिङ पहुँच सर्वसाधारणसम्म सहज भएको बताए । पराजुलीले शतप्रतिशत वित्तीय पहुँच भने पुग्न नसकेको बताउँदे शहर केन्द्रित वित्तीय पहुँच संघीयता कार्यान्वयनसँगै गाउँबस्तीहरुमा पुगेको उल्लेख गरे । सामाजिक सुरक्षा भत्तादेखि कर्मचारीको तलब भत्तासम्म बैंकिङ प्रणालीमार्फत हुनु त्यसको सकारात्मक पक्ष भएको बताए । उनले वित्तीय पहुँचको विस्तारसँगै बैंक तथा वित्तीय संस्थाहरुको विस्तार भएको र जसले गर्दा अर्थतन्त्र चलायमान गराउन मद्दत गरेको मान्न सकिनेमा जोड दिए । कार्यक्रममा महालक्ष्मी विकास बैंकका पालुङ शाखाका शाखा प्रबन्धक नितेशराज पाण्डेले स्थानीय निकायका जनप्रतिनिधिहरु मार्फत वित्तिय क्षेत्रका जानकारहरुको राय सल्लाह सुझावमा स्थानीयस्तरमा नै वित्तिय साक्षरतका कार्यक्रमहरु संचालन गरेमा प्रभावकारी हुने बताए । समुदायस्तरमा आयोजना गरिने वित्तिय साक्षरता कार्यक्रमले जनमानसमा सकारात्मक सन्देश जाने र समाजमा वित्तिय पहुँचमा उल्लेख्य वृद्घि हुने बताए ।
कार्यक्रममा बजार व्यवस्थापन समिती शिखरकोटका अध्यक्ष मनोज रायमाझी, फरकसोचका संयोजक यादव जंग रायमाझी, वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, वडा नम्बर ३ का सदस्य कृष्ण कुमार कार्की, ४ नम्बर वडाका सदस्य सुन्दरराज केसी, थाहानगर अटो व्यावसायी संघका सचिव किरण गोपाली, महालक्ष्मी विकास बैंक हेटौंडा शाखाका शाखा प्रबन्धक अनन्त राज धिताल, हेटौंडा शाखाका कर्मचारी रामेश्वर अर्याल, पालुङ शाखाका कर्मचारीहरु, नगर भित्रका बजार व्यवस्थापन समितिका पदाधिकारीहरु थाहानगर अटो व्यावसायी संघका पदाधिकारीहरु तथा नगरभित्र संचालनमा रहेको अटो चालकहरुको उपस्थिति रहेको थियो।
पालुङ शाखाकासुसान्त ढकालले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी जस्ता विषयमा जानकारी दिईएको थियो । सो अवसरमा पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणजस्ता विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्