गुँड सम्झेर साँझ चरा आएजस्तो, गाउँ सम्झेर घर फिरेको कुनै परदेशीको आगमनको अर्थ नै बेग्लै रसले मधुरो हुँदोरहेछ । जस्तो कि, पचासको दशकतिर सहर पसेका अर्जुनसिंह ठकुरी केही वर्षअघि गाउँ फिरे ।

‘विकेन्ड डेस्टिनेसन’ बन्दै टिस्टुङ

टिस्टुङलाई पहिलेभन्दा बढी मोहक र रमझमयुक्त बनाउन उनको पनि भूमिका छ । कवि भूपाल राईको कविता ‘दाजै कविता गाउँमै छ’ लाई मनमस्तिष्कमा बोकेर यतिबेला खटिइरहेका छन् । भन्छन्, ‘गाउँमै केही गर्नुछ, यहींको युवा पुस्तालाई पौरखी बनाउनु छ ।

अर्जुनले टिस्टुङमा ‘ॐ अध्याय रिट्रिट’ रिसोर्ट खोलेपछि उनको गाउँ–आगमन बढेको हो । पश्चिमी किनारमा घाम डुबेसँगै रिसोर्ट अनेक रंगीन बत्तीहरूमा झलमल्ल बल्छ । भव्य रिसोर्टले अत्याधुनिक सहर ठमेल सम्झाउँछ ।

ॐ अध्यायबारे अर्जुनका साथीहरू भन्थे– यो त खोल्सामा फुलेको फूल हो । ‘हामी गाउँकै स्थानीय उत्पादन प्रयोग गर्न चाहन्थ्यौं । रिसोर्ट छेउकै खोलाको साग टिपेर खान्थ्यौं,’ अर्जुन भन्छन्, ‘साथीहरूले भनेझैं रिसोर्टले खोल्सामा फुलेको फूल भएर सधैं बास्ना छरिरहोस् ।’

अर्जुनले ८ वर्षअघि सुरु गरेका हुन्, ॐ अध्याय रिट्रिट । त्यतिबेला उनले रिसोर्टभन्दा पनि साथीभाइ बसेर रमाउने ठाउँ बनाउन चाहन्थे । त्यसैले ५० लाख रुपैयाँ खर्चेर आफ्नै गाउँको जग्गामा फार्म हाउस चलाए, आठ कोठे घरमा । तर, अन्तरालमा विदेशी र घुमन्ते नेपाली पनि आउन थाले फार्म हाउसमा । अब ८ कोठाले पुगेन, त्यसपछि उनले फराकिलो सपना देखे ।

अर्जुनका अनुसार, रिसोर्टमा जग्गाबाहेक अहिलेसम्म २५ करोड रुपैयाँ खर्च भइसकेको छ । शुक्रबार–शनिबार रिसोर्ट भरिभराउ हुन्छ । अर्जुन चाहन्छन्, आफ्नो रिसोर्टमा आउनेहरूको समय ‘कोठामा होइन, शान्त बगैंचामा’ बितोस्– मगमग फूलहरूको माझमा, जहाँ मौरी भुनभुनाइरहेका हुन् । सहरका मान्छेहरू व्यस्त समयबाट ताजगी र स्फूर्ति प्राप्त गर्न यो चिसो चन्द्रागिरि डाँडा चढ्छन्– योग–ध्यान गर्न, खेल्न वा संगीतमा रमाउन वा जंगलतिर बरालिन वा कुलेखानीमा डुंगा चढेर नजिकका गाउँतिर हाइकिङ गर्न । २२ रोपनीमा फैलिएको रिसोर्टमा सम्मेलन कक्ष, कन्सर्ट हल, स्विमिङ पुल, चिल्ड्रेन पार्क र हेलिप्याड छन् ।

सहरको कोलाहलबाट एक/दुई दिनका लागि भए पनि मुक्त हुन चाहनेहरूको हूल रिसोर्टमा चम्किएका थुप्रै रंगीविरंगी बत्तीमाझ डिजे–म्युजिक र लाइभ–ब्यान्डमा नाचिरहेको हुन्छ । स्विमिङ पुल छेउछाउमा पेयमा रमाइरहेका वा डाँडामा क्याम्प फायर गर्नेहरू पनि देखिन्छन् उत्तिकै ।

‘यहाँ सहर र घरभन्दा स्वतन्त्रता अनुभव हुन्छ । डाँडातिर डुले पनि भो, रिसोर्टमा भावुक म्युजिक सुनेर बसे पनि भो,’ उनीहरू भन्छन् । बिहान सुरु भएसँगै रिसोर्टको वरिपरिका डाँडाकाँडामा देखिन्छन् युवायुवती । कोही खेलकुदमा रमाइरहेका देखिन्छन् त कोही घोडा चढेर डाँडा उक्लिरहेका । लोकल कुखुरा, हाँस, ढिँडो, गुन्द्रुक, फापर, सिस्नो खाने रहरले रिसोर्ट पुग्नेहरूको पनि कमी छैन ।

पहाडको एउटा अँध्यारो बस्ती टिस्टुङलाई गुलजार बनाएको छ, रिसोर्टले । यो ऐतिहासिक चित्लाङ–थानकोट सडकले हाम्रो नेपाली इतिहास र राजनीतिको बिर्सिसकिएको पुरानो कथा वाचन गर्छ । २०११ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौंलाई मधेश र भारतसँग जोड्ने मार्ग यही एउटै त थियो । यो त्यही पुरानो बाटो हो, जुन कुनै समय नेपाली राणाकालीन समयको लाइफलाइन थियो ।

अर्जुनसिंह ठकुरी यही टिस्टुङमा हुर्किए । उनी सोचिबस्छन्– छेउमै हेटौंडा त विकास भयो, तर काठमान्डु पुग्ने बीचका बस्तीहरू उस्तै रहे । अर्जुनसिंहलाई लाग्छ– मेरो टिस्टुङमा सपना, श्रम अनि संस्कृति पनि छ । तर, सपना बोकेर विदेश गइरहेका युवायुवतीको हूल छ । ‘त्यसैले ती युवालाई कसरी यहीं रोक्ने ?’ अर्जुनसिंह भन्छन्, ‘खासमा हामीले गाउँ नचिनेका हौं । यहाँ दुःख त छ, तर सबैथोक छ गाउँमै ।’

ॐ अध्याय रिट्रिटमा छन्– ३३ जना स्थायी कर्मचारी, जो सबै टिस्टुङकै हुन् । तिनलाई उनैले तालिम दिलाएर रोजगारी पनि दिएका हुन् । ‘गाउँका पढेलेखेका बेरोजगार र विदेश जाने चक्करमा डुलिरहेका तालिम दिएर जागिर दिएको हुँ’, अर्जुनसिंह भन्छन्, ‘३/४ जनाको समूह बनाएर काठमान्डुका तारे होटलमा ट्रेनिङ दिलायौं । तिनले सडकका भ्यारभ्यारे मःम होटलदेखि स्टार होटलसम्म पुगेर तालिम लिए ।’

अर्जुनको चाहना एउटै हो– टिस्टुङलाई ‘विकेन्ड डेस्टिनेसन’ बनाउने । थाहा नगरपालिका–६ को यो बत्तीमुनिको अँध्यारो गाउँले ३८/४० सालतिरै कुलेखानी प्रोजेक्टमार्फत काठमाडौंलाई झिलिमिली पारेको थियो । तर, कुलेखानीभन्दा ५ किलोमिटर मात्रै परको उनको गाउँमा ५२ सालमा बल्ल बिजुली पुग्यो । अर्जुनले टुकी बालेरै पढे । गाउँमा ‘पिक आवर’मा सय वाटको बत्ती बल्दा ‘फिलामेन्ट’ मात्रै बलिरहेको सम्झना छ उनीसँग । र, त्यो ‘फिलामेन्ट’ मुनि उनी टुकी बालेर पढिरहेका हुन्थे । टिस्टुङ–पालुङ खासमा उबेलाका ट्रक चालकहरूको खाना खाने ‘जक्सन’ थियो ।

टिस्टुङमा मंसिरदेखि माघसम्मै खडेरी पर्थ्यो । धान, मकै, कोदो, फापर त फल्थ्यो, तर वर्षभरि खान पुग्दैनथ्यो । त्यसपछि धेरै फापरसँग थोरै चामल साटिन्थ्यो । घरमा दुःख कत्ति थियो भने अर्जुनले मेला, पर्म र गोठालो गएरै पढेका हुन् । स्कुल भर्ना गर्ने पैसा पनि थिएन, तर हरेक वर्ष कक्षामा सर्वोत्कृष्ट अंक ल्याउँथे उनी । त्यसैले छात्रवृत्ति पाएरै पढे– ग्रिनलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंक) ले एक कार्यक्रमअन्तर्गत उनलाई ८, ९ र १० कक्षामा छात्रवृत्ति दिएको थियो, वार्षिक ९ सय रुपैयाँको ।

अर्जुनले एसएलसी पास गरे– ०५४ सालमा । खर्चले धान्दैनथ्यो, डाक्टर बन्ने सपनालाई तिलान्जली दिए । काठमान्डुको असाध्यै सस्तो, अँध्यारो कोठा–भाडामा बसेर आरआर क्याम्पसमा मानविकी पढे, साहुको पसलमा कामदार भए, होम ट्युसन पढाए, छापाखानामा काम गरे, कम्प्युटर सिक्दै एउटा बोर्डिङ स्कुलमा कम्प्युटर शिक्षक भए । २० वर्षअघि कम्प्युटर पढाएको त्यो बोर्डिङ स्कुल उनैले किनेका छन् अहिले ।

कम्प्युटर डिप्लोमा पास गरेपछि आईटी कम्पनी सुरु गरे । अहिले अर्जुनको ३ वटा आईटी कम्पनी छन् । र, त्यसपछि उनले सपना देख्न थाले– रिसोर्टको । भन्छन्, ‘टिस्टुङ, चित्लाङ र कुलेखानीमा आन्तरिक–बाह्य पर्यटकको आगमन बढिरहेको छ, रिसोर्ट राम्रै चलिरहेको छ ।’

पालिका प्रेस
थप जानकारी