

मकवानपुरको विकट एक गाउँपालिकाका विद्यार्थीले विहान राष्ट्रिय गाँनमात्र गाउँदैनन् गाँउपालिकाको गान पनि गाँउछन् । छात्रछात्राले राष्ट्रिय र पालिकाको गरी दुर्ईवटा गान गाउने पालिका हो राक्सिराङ । राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँबस्तीलाई समेटेर पालिकाको गान तयार पारेको छ ।
‘सरिखेतको सेरोफेरो काकडा र खैराङ’
‘मुटुभन्दा प्यारो लाग्छ हाम्रो राक्सिराङ’
पालिकाभित्र रहेका ७ हजार २ सय ६६ जना विद्यार्थीले दैनिक राष्ट्रिय गानपछि पालिकाको गान गाउने गरेका छन् । ‘राक्सिराङ गाउँपालिका ६ सिलिङेस्थित सिलिङे माविका विद्यार्थी र शिक्षक हामी सबैले राष्ट्रिय गानपछि पालिकाको गान गाउने गरेका छौँ,’ प्रधानाध्यापक तारानाथ दुवाडीले भने, ‘पालिकाको गानले विद्यार्थीहरूलाई गाउँप्रति थप प्रेम जगाएको अनुभूति भएको छ । चेपाङहरूको बाहूल्य रहेको उक्त गाउँपालिका साविकको सरिखेत, काकडा, राक्सिराङ र खैराङ गाविस समेटेर राक्सिराङ गाउँपालिका वनाएको हो ।
पालिकाका विषयमा रचिएका गीत, कविता भए पनि यस जिल्लाका अन्य विद्यालयहरूमा प्रार्थनाका रुपमा गाउने चलन छैन । २०३०/०३१ सालतिर मकवानपुरकै हालको थाहा नगरपालिकाका विभिन्न विद्यालयमा थाहा भनेर चिनिने स्व. रुपचन्द्र विष्टद्वारा लिखित ‘घोषणा ’प्रार्थनाका रुपमा गाउने गरिन्थ्यो । त्यतिबेलाका उक्त क्षेत्रका विद्यार्थीहरूले राष्ट्रिय गान गाउने थिएनन् । विष्टद्वारा लिखित घोषणा गाउँथे । राक्सिराँङ गाउँपालिकाले विद्यार्थीलाई गाउँका विषयमा जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरेको छ ।
आफनो मौलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थल, जडवुटी र जातिय पहिचानसहित महत्त्वका विषयवस्तुलाई स्थानीय पाठ्यपुस्तकमा समावेश गर्दा आम विद्यार्थीमा आफनो स्थानीय तहप्रतिको अपनत्व बढनुका साथै जानकारी पनि हुने गरेको प्रअ दुवाडीले भने, ‘स्थानीय पाठ्यक्रमले पढाइप्रति विद्यार्थीको रुची बढाएको अनुभव भएको छ ।’ उक्त विद्यालय करिब ६ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । कक्षा १ देखि १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा ९८ प्रतिशत विद्यार्थी चेपाङ समुदायका छन् ।
प्रतिक्रिया दिनुहोस्