थाहा नगरपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब यज्ञराज कोइराला नेतृत्वको टोलीले लघु उद्यम विकास कार्यक्रमको अनुगमन गरेको छ । सहसचिब कोइराला नेतृत्वमा उपसचिब प्रकाश आचार्य, उपसचिब अनुषा कोइराला, शाखा अधिकृत त्रिशान श्रेष्ठ र शाखा अधिकृत राजन पराजुली संलग्न टोलीले थाहा नगरमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)को सञ्चालन, समस्या र चुनौतिहरुका बारेमा सरोकारवालाहरुसँग छलफलसहित अनुगमन गरेको हो ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, लघु उद्यम विकास कार्यक्रम अधिकृत कुमार नेगी, उद्यम विकास समिति सदस्य आरती श्रेष्ठ, उद्यम विकास सहजकर्ता तथा लघु उद्यमी महिलाहरुसहितको सहभागिताबीच टोलीले छलफल गरेको थियो । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले मेड्पालाई स्थानीय सरकारले अपनत्व लिएको र उक्त कार्यक्रम प्रभावकारी रहेको बताएका थिए । उनले स्थानीयस्तरमा लघुउद्यमशीलताको विकास हुँदै गएको र कतिपय उत्पादनको बजारीकरण तथा सीप र प्रविधिको स्तरीकरणमा समस्या देखिएकोले सहयोगका लागि मन्त्रालयलाई आग्रह गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका उपसचिब अनुषा आचार्यले विषय प्रवेश गराएपछि थाहा नगरपालिकाका उद्यम विकास कार्यक्रम अधिकृत नेगीले पालिकामा मेड्पाअन्तर्गत विगतदेखि सञ्चालन हुँदै आएका कार्यक्रम, चालु आर्थिक वर्षका गतिविधिहरु, तिनको परिणाम र प्रभाव, समस्या र चुनौतिहरुका बारेमा जानकारी गराएका थिए । त्यस्तै लघुउद्यमी महिलाहरु निरमाया बल, शान्ति श्रेष्ठ, असनी गोपाली, रेशममाया गोपाली, शान्ति तामाङ लगायतले आफूहरुले लघु उद्यम विकास कार्यक्रमअन्तर्गत् सिकेका सीप, तिनको उपयोगिता, उत्पादन र बजारको बारेमा जानकारी गराउनुका साथै केही अपेक्षाहरु पनि राखेका थिए ।

लघु उद्यमी महिला, कार्यक्रम अधिकृत, उद्यम विकास सहजकर्ता, मन्त्रालयका टोलीका सदस्यहरुसमेतको कुरा सुनिसकेपछि सम्बोधन गर्दै मन्त्रालयका औद्योगिक तथा लगानी प्रवर्धन महाशाखाका प्रमुखसमेत रहेका सहसचिब कोइरालाले थाहा नगरपालिकामा मेड्पा कार्यक्रमको प्रभावकारिता राम्रो रहेको भन्दै प्रशंसा गरेका थिए । उनले सिप विकास लिएपछि विपन्न वर्गका महिलाहरु उद्यमशीलतामा लाग्नु, त्यसबाट आयआर्जनका ढोकाहरु खुल्दै जानु, कार्यक्रमबारे लघुउद्यमी, कर्मचारी र जनप्रतिनिधिहरुबीच सहकार्य तथा बुझाइमा एकरुपता हुनु, समस्या समाधानबारे बेलाबेला अन्तरक्रया कार्यक्रम हुनु आदि सकारात्मक रहेको उल्लेख गरे ।

स्थानीय लघुउद्यमी महिलाहरुको उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले आयोजना गर्ने कार्यक्रमहरुमा आफ्नै उत्पादनलाई प्रयोग गर्नु निकै नै राम्रो कदम भएको उनको भनाइ थियो । थाहा नगरपालिकामा अल्लोको कपडा उत्पादनका लागि राम्रो सम्भावना रहेकोले यसप्रति महाशाखा सकारात्मक रहेको र कतिपय उत्पादनलाई बजारसँग जोड्ने र सीप÷प्रविधिको स्तरीकरण गर्ने विषयमा महाशाखाले विचार गर्ने उनले बताए । कार्यक्रममा टोलीलाई स्थानीय महिलाहरुले उत्पादन गरेको खादा अर्पण गरिएको थियो भने टोली प्रमुख कोइरालालाई दामन अल्लो महिला उद्यमी समूहकी अध्यक्ष रेशममाया गोपालीले आफैले बुनेको अल्लोको टोपी पहि¥याइदिएकी थिइन् ।

थाहा नगरपालिकामा यस वर्ष उद्यमी महिलाहरुले अचार, निगालो र बाँसका हस्तकलाका सामग्री, अल्लोको कपडा, डलकुशन उत्पादन गर्दै आएका छन् । यसअघि यहाँका महिलाहरुले मखमलीको जुत्ता, होजियारी र सिस्नुको पाउडर बनाउने तालिम लिएर उत्पादन गर्दै आएका छन् । कतिपय उत्पादनहरु दामन नयाँगाउँस्थित कोशेली घरमा राखिएकोमा अनुगमन टोलीले कोशेली घरमै पुगेर महिलाहरुद्वारा निर्मित सामग्रीहरुको अवलोकन गरेको थियो । कोशेली घरको अनुगमनपछि टोलीका सदस्यहरुले कोशेली घरका कारण महिलाहरुमा उद्यमशीलतामा उत्साह थपिएको हुनुपर्ने विश्वास व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी