मकवानपुरको थाहानगरलगायत देशका विभिन्न शहरमा १४ भाद्रमा परेको यसवर्षको गाईजात्रा पर्व मनाइएको छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर, डबली मन्दिर परिक्रमा गराउने चलन छ ।

गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछ भन्ने विश्वास छ । मरेका मान्छेको घरबाट गाई या गाईको तस्वीर लगाएर हिड्नेलाई निकालेर नगर घुमाउँदा मृत आत्मा यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भत्रे विश्वास छ । यसवर्षको गाइजात्रा थाहानगरको गोपाली गाउँ, पालुङ, ओखरबजार, कुन्छाल, बज्रवाराही, टौखेल, विसिङ्खेल, चित्लाङलगायत नेवारी समुदायको बसोबास भएको स्थानमा मनाइएको छ ।

गाइजात्राको अवसरमा हाँस्यव्यंग्य, नाटक प्रदर्शन तथा लाखे नाच पनि देखाइने गरिन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतकका आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने पुराणमा उल्लेख छ । एक वर्षभरि दिवंगत भएकाका परिवारजनले उनीहरुको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दही, क्वाँटी दान गर्ने गर्दछन् ।
आफन्तको मृत्यु भएर सोकमा डुबेका परिवारजनलाई हसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रुपमा पनि यसलाई लिने गरिएपनि थाहानगरका कतिपय मृतक परिवारलाइृ जात्राले झन आफन्तको झल्कोले पिरोलेको बताए । जात्रामा कतिपय मृतक परिवारले आँशु थाम्नै सकेनन् । काठमाण्डुका तत्कालीन राजा प्रताप मल्लले पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाइजात्राको चलन ल्याएको इतिहास छ । प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आदेश आज्ञा दिएपछि यो पर्व सुरु भएको इतिहासमा उल्लेख छ ।

गाईजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङघिसी र माँक प्याखँ नाच (बाँदर नाच) नाच देखाउने प्रचलन छ । यस पर्वमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । गाईजात्रा पर्व थाहानगरसहित छिमेकी चन्द्रागिरी नगरपालिका, काठमाण्डु उपत्यकासहित नेवार बाहुल्य सहरहरु बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा विशेष रुपमा मनाइन्छ ।

हेर्नुहोस थाहानगरमा मनाइएको गाईजात्राको फोटोहरुः

  • फोटोः गणेश विष्ट/पालिका प्रेस

गणेश विष्ट
थप जानकारी