मकवानपुर जिल्लाका करिब ८० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपाल सरकारले चैतभित्रमा शतप्रतिशत नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने नीति अवलम्बन गरेसँगै हाल मकवानपुरमा खोप अभियान तीव्र बनेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवापुरको तथ्यांक अनुसार हालसम्म हेटौंडा उपमहानगरपालिकामा करिब ८५ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् ।

जिल्लाको दसवटै स्थानीय तहमध्ये राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका खोप लगाउनेको संख्यामा कमी देखिएपछि अहिले ‘टोल टोलमा खोप’ अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख भीमसागर गुरागाईंले जानकारी दिए ।

उनका अनुसार राक्सिराङमा ४५ प्रतिशत, कैलाशमा ६० प्रतिशत र मनहरीमा ५६ प्रतिशतले मात्र खोप लगाएका छन् । ‘तीनदिन भित्रमा सवै स्थानीय तहमा खोप लगाउनेको संख्या ८० प्रतिशतभन्दा माथि हुनेछ,’ उनले भने, ‘हामीले स्थानीय तहसँग समन्वय गरेर अहिले खोप अभियान सञ्चालन गरेका छौं । जसकारण धेरै नागरिकले खोप लगाइरहेका छन् ।’

उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा रहेका खोप केन्द्रबाट पनि कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको छ । ‘विद्यालय, टोल तथा खोप केन्द्र गरी तीन स्थानमा कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको छ,’ उनले भने । हेटौंडा बसपार्कमा स्थापना गरिएको अस्थायी खोप केन्द्रबाट पनि दैनिक हजार जनाले खोप लगाइरहेको उनले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो केही दिनमा कोरोनाका बिरामी बढेसँगै खोप लगाउनेको संख्यामा पनि वृद्धि भइरहेको छ । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने वाग्मती र बकैया गाउँपालिकामा खोप अभियान सञ्चालन गरेपछि अझै खोप लगाउनको संख्या बढ्ने कार्यालयले जनाएको छ । ‘अहिले विकट, सीमान्तकृत र पिछडिएको समुदाय लक्षित गरेर पनि अभियान गरिरहेका छौं,’ गुरागाईंले भने ।

पालिका प्रेस
थप जानकारी